२०७७ मंसिर १०, बुधबार

असारे प्रवृत्तिमा रोक लगाउन वाञ्छनीय

कर्णाली प्रदेशका विभिन्न जिल्लामा अहिले विकासे काम सुरु भएका छन् । माटो खोस्ने र करोडौं स्वाहा पार्ने प्रवृत्ति अहिलेको होइन । यो परम्परा पहिले देखि कै हो । यो वर्ष पनि विभिन्न पालिकामा सञ्चालित कार्यक्रमले यहि देखाएको छ । सुर्खेतस्थित चिंगाड गाउँपालिकाको धरमपोखरा–धार्खेत सडकखण्डको काम सुरु भएको नौ दिनजति भयो । काम नसकिँदै उक्त सडकको केही भाग पहिरोले बगाइदियो । सोही गाउँपालिकाको धार्केख–रानीवास सडकखण्डको काम सुरु हुन सकेको छैन । सात करोडमा निर्माण हुने उक्त सडक निर्माण सुरु हुन केही दिन लाग्छ । यति मात्र होइन, असारे विकासको चित्रण दैलेखस्थित महाबु गाउँपालिका–४, को गीताचौर–काप्रीखोला सडकखण्डले गर्छ ।
जेड आकारमा बनेको उक्त सडक कुनै प्राविधिक विधि अपनाइएको छैन । चट्टाने भिरालो जमिनमा सडक निर्माण गरिएकाले त्यहाँ सवारी साधन गुड्न सहज छैन । घुम्ती साँघुरो छ भने सडक उकालो बनेको छ । करिब नौ सय मिटरमा सडक निर्माण गरिएको छ ।
उपभोक्ता समितिले १२ लाख रूपैयाँमा निर्माण जिम्मा लिएको गाउँपालिकाले जानकारी दिएको छ । सडक निर्माण गर्दा जनशक्ति परिचालन गरिएको थिएन । यी प्रतिनिधिमूलक घटना मात्रै हुन ।
कर्णालीको विकासमा सबैभन्दा तगारो भनेको नै असारे खर्च प्रवृत्ति नै हो । जबसम्म यो प्रवृत्ति कायम रहन्छ कर्णालीमा बजेटको जति खोला बगाएपनि जनताले विकास र परिवर्तन भएको महसुस गर्ने छैनन् । बरु कर्णालीका आम नागरिकले असारमा खनिएका बाटाका कारण पहिरोको पीडामा पर्नुपर्ने हुन्छ । एकातिर राज्यको करोडौं लगानीलाई पानीले बगाएर लैजाने छ भने अर्कोतिर जनताको घर आँगनमा बाढी पहिरोले दस्तक दिनेछ र त्यसले ठूलो क्षति ल्याउने पक्का छ । तसर्थ भौतिक निर्माणका कामहरुलाई असारमा पूर्ण रुपमा बन्द गर्ने र यो कामलाई दशैं तिहार पछि गर्दा उत्तम हुन्छ । प्रदेश सरकार, स्थानीय सरकाले असारे प्रवृत्ति रोक्न वाञ्चनीय छ ।