२०७७ कार्तिक १५, शनिबार

वीरेन्द्रनगरको बजेट एक अर्ब ४३ करोड

सुर्खेत, १० असार ।
वीरेन्द्रनगर नगरपालिकाको सातौं नगरसभामा कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले महत्वाकांक्षी बजेट प्रस्तुत गरेकी छिन् । आगामी आर्थिक वर्ष २०७७÷०७८ मा कुल जम्मा एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी हुन । नब्बे करोड चालिस लाख चौध हजार चार सय रुपैंया चालुतर्फ र एकाउन्न करोड सत्सट्ठी लाख अन्ठानब्बे हजार चार सय तेइस पुंजीगततर्फ र वित्तीय व्यवस्थातर्फ बयासी लाख असी हजार विनियोजन भएको छ ।
उनले हरेक वडामा एक करोड बजेट पठाउने देखि जेहेन्दार छोरीलाई छात्रवृत्ति कार्यक्रम ल्याएको बताईन । बजेट बक्तव्यको बुँदा नम्बर एक सय ७४ मा हरेक वडाका जेहेन्दार छात्राहरु मध्ये १६ जनालाई कानून विषयमा उच्च शिक्षा अध्ययन गर्नका लागि छोरी छात्रवृत्ति कार्यक्रम संचालन गर्न विश्व विद्यालयसँग सहकार्य गर्ने उनले उल्लेख गरेकी छिन् । यसको मतलब अहिले स्थानीय तहमा कानून निर्माणमा महिलाको सहभागिता कम भएको बताउँदै नगरपालिकाले उक्त कार्यक्रम समेटेको हो । छात्रालाई कानून पढाउँदा नगरपालिकाले महिला अधिकार समाजमा स्थापित गर्न, राज्यलाई सहि ढंगले चलाउन सक्ने अपेक्षा नगरको रहेको उनको भनाई छ ।
‘हरेक वर्षको बैशाख २५ गते नगरपालिकाको स्थपना दिवसका अवसरमा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । सञ्चारकर्मीहरुको उत्प्रेरणा वृद्धि गर्न नगरपालिकाले आफ्नो नगर क्षेत्रमा क्रियाशील संचारकर्मीहरु मध्ये महिला र पुरुष गरी उत्कृष्ट दुइ जना पत्रकारलाई नगर विकास पत्रकारिता पदक तथा जनही रु पचास हजार नगद पुरस्कारबाट सम्मान गरिनेछ ।’ कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले भनिन, ‘कोरोनासँग सामना गर्नु पनि चुनौती रहेको छ । यसकालागि हामीले पाँच करोड रुपैंया विनियोजन गरेका छौं ।’
नगरपालिकाले प्रत्येक वडाहरुमा सशुल्क सरसफाईको नीति लिइ प्रत्येक टोलमा कम्तीमा हप्ताको एक पटक अनिवार्य फोहोर संकलन गर्ने साधन पुग्ने प्रवन्ध गरिने भएको छ भने फोहोर गर्नेलाई दण्ड र जरीवाना एवम व्यवस्थापनमा उल्लेख्य योगदान गर्नेलाई सम्मान गरिने प्रमुख ढकालले बताईन । ‘मुख्य बजार सडकलाई व्यवस्थित र सुन्दर फुटपाथसहितको सडक निर्माण गर्ने गरी निर्माण प्रक्रिया कार्यलाई निरन्तरता दिईनेछ साथै मुख्य बजारका विधुतको पोललाई विस्थापन गरी जमिनमुनि तारको व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरि काम अगाडी बढाईनेछ ।’ उनले भनिन् ।