२०७७ कार्तिक १४, शुक्रबार

लेखिने भयो खस भाषाकाे शव्दकाेष ‘खसिया आखर’

लेखिने भयो ‘खसिया आखर’

सुर्खेत : खस संस्कृतिका जानकार एवं भाषाविद् रमानन्द आचार्य (७३) ले एक दशकअघि सुरु गरेको ‘खसिया आखर’ अर्थात् ‘बृहत् नेपाली खस शब्दकोष’को कामले पूूर्णता पाउने भएको छ। कर्णाली प्रदेश सरकारले खस शब्दकोष लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ को काममा आशा पलाएको हो।

आचार्यले २०६५ सालदेखि झरी, हिउँ, सञ्चो, बिसञ्चो नभनी काम गरिरहेका छन्। दराज र राउन्डटेबल भएको साँघुरो कोठाको बीचमा रहेको सानो कुर्चीमा बसेका उनका वरिपरी पाठ्यसामग्री असरल्ल थिए।

तर उनको एक्लो प्रयासले मात्रै समयमै शब्दकोष लेख्न सम्भव नभएपछि अब प्रदेश सरकारले सहयोग गर्ने भएको हो। जुम्ला चन्दननाथ नगरपालिका आचार्यबाडाका उनी घरबाट दैनिक आधा घण्टाको बाटो हिँडेर सदरमुकाम खलंगास्थित शब्दकोषका लागि काम गर्ने कोठामा पुग्छन्। दिनदिनै खस शब्दकोष लेख्न बिना सेवासुविधा, बिहान घरमा खाएको खानाकै भरमा दिनभर काममा व्यस्त रहने उनलाई खाने पानीको समेत व्यवस्था छैन।

आफ्नै हातले खस शब्दकोष लेखेर प्रकाशन गर्ने उनको अठोट कहिल्यै हटेन। उनको लेखन अभियानमा धेरैबाट असहयोग पाए पनि आचार्यको सपना पूरा हुने भएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेटको बुँदा नम्बर एक सय ३० को पहिलो बुँदामै खस शब्दकोष लेखनका लागि चाहिने आवश्यक बजेटको व्यवस्था गरको हो।

कर्णाली प्रदेश सरकारले खस शब्दकोष लेखनका लागि आवश्यक बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ ले पूर्णता पाउने भएको छ।

ढिलै भए पनि प्रदेश सरकारले खस शब्दकोष प्रकाशनका लागि बजेटको व्यवस्था गरेपछि लेखक आचार्यले खुसी व्यक्त गरे। बजेट अभावकै कारण शब्दकोष लेखनमा निकै ढिलाइ भएको समाचार यसअघि अन्नपूर्णमा प्रकाशन भएपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको थियो। शब्दकोषको नाम खस भाषाबाटै ‘खसिया आखर’ राखिएको छ। खस भाषामा खसिया भनेको खस र आखर भन्नाले शब्दभण्डार भन्ने बुझिन्छ। शब्दकोष प्रकाशनपछि यो नै खस भाषाको पहिलो पाण्डुलिपि बन्नेछ।

विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्िवक महत्वलाई जीवन्त राख्न शब्दकोषले मद्दत गर्ने लेख आचार्य बताउँछन्। उनका अनुसार एक हजार पृष्ठ लामो ‘खसिया आखर’ मा ४० हजार बढी खस शब्द समेटिनेछन्। तर बजेट अभावका कारण हालसम्म करिब २५ हजारभन्दा बढी शब्द मात्रै संकलन भएका छन्। २०६५ मा तत्कालीन जिल्ला विकास समिति र शब्दकोषका लेखक आचार्यसहित जुम्ली अगुवाको पहलमा शब्दकोष लेख्न सुरु गरिएको थियो। त्यो बेला बृहत् शब्दकोष लेखनलाई पूर्णता दिन विभिन्न निकायले सहयोगको आश्वासन दिए पनि व्यवहारमा भने लागू भएन।

‘शब्द संकलन तथा लेखन कार्यका लागि तत्कालीन पाँच सदस्यीय समिति गठन भयो। तर समितिमा बसेका निष्क्रिय भए’, उनले भने, ‘शब्दकोष निर्माणको काम मेरै थाप्लोमा आए पनि मैले भने काम छाडिनँ।’ शब्दकोषमा कर्णालीका झर्रा खस शब्दमात्र समेटिनेछन्। बजेट अभावले गाउँगाउँ गएर थप शब्द संकलन कार्य रोकिएको छ। संकलन भएका शब्द पनि कम्प्युटर टाइपिङ भएका छैनन्। शब्द वर्णानुक्रममा राख्ने र अर्थ लगाउने काम लेखक आचार्यले एक्लै गरिरहेका छन्। शब्दलाई अंग्रेजीमा पनि अर्थ लगाउने काम जारी रहेको उनले बताए।

शब्दकोशमा तत्कालीन खस राज्य सिंजा उपत्यकाभित्र र त्यस वरपरका बस्ती तथा कर्णालीमा बोलिने भाषामा प्रयोग हुने शब्द संकलित छन्। पाण्डुलिपि तयार गर्नुका साथै शब्द पुनरावलोकन गर्ने काम अन्तिम चरणमा पुगेको छ। ‘विदेशी भाषाको नक्कलले आफ्नै मातृभाषा हराउँदैछ। खस भाषा अहिले कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ निर्माणमा लागेका हौं’, उनले भने, ‘संकलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ। अब प्रदेश सरकारको सहयोगमा चाँडै बाँकी काम सकेर यसै आर्थिक वर्ष भित्र शब्दकोष प्रकाशनमा आउँछ।’

नन्दाराम जैशी, अन्नपुर्ण