२०७७ कार्तिक ७, शुक्रबार

छाउपडीको नयाँ रुप, छाउ बार्ने तर बसाईं छाउगोठ होइन छाउघरमा

चैकुने गाउँपालिकाको घाटगाउँमा काठैकाठको एक घर । त्यो घरको भुईंतलामा बाख्रा पालिएको छ । माथिल्लो तलामा जान लिस्नुको प्रयोग भएको छ । त्यहाँ मच्छरदानी, सोलार बत्ती र पंखाको व्यवस्था छ । सरसर्ती हेर्दा परम्परादेखि चल्दै आएको छाउ गोठ यहाँ नभएको अनुमान गर्न सकिन्छ । तर यहाँका महिला अहिले सुविधासम्पन्न यो घरमा बस्दै आइरहेको छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको रुपमा बसन्त अधिकारी आए । उनी आफैंमा रुढीवादी परम्पराको विरोधी थिए नै, उनलाई साथ दिने शाखा अधिकृत उत्तम शर्मा पनि सुर्खेतमै थिए । गत वर्ष सरकारले सामाजिक कुप्रथाको रुपमा रहेको छाउगोठ भत्काउने अभियान तिव्रताका साथ अघि बढायो ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतले गृहमन्त्रालयको आदेश भन्दै गाउँगाउँमा रहेका छाउगोठ भत्काउन प्रहरी नै परिचालन गरेर छाउगोठ भत्कायो । अहिले भत्काएको स्थानमा पहिलेृ जस्तो छाउगोठ देखिदैनन् । अहिले सोलार राखिएका, घरको माथिल्लो तलामा छाउ भएका महिलाहरुलाई बसाल्ने गरिएको पाइएको छ । त्यो घरलाई अहिले सामुहिक छाउघर भनिन्छ । त्यहि घरमा रजस्वला भएको पाँच दिनसम्म महिलाहरु ब्स्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ ।

घरदेखी अलग्गै बनाएको साँघुरो छाउगोठमा महिनावरी भएको बेला बसाल्दा महिलालाई सर्पले टोक्ने, बलात्कृत हुने र निस्सासिएर मृत्यु हुने घटना बढेपछि सरकारले गत पुसमा छाउपडी उन्मुलन अभियान थालेर छाउगोठ भत्काएको थियो । सुर्खेतमा अभियानका क्रममा झण्डै दुईहजार छाउगोठ भत्काइएको थियो । परम्परागत रुपमा चल्दै आएको कुप्रथा केही हदसम्म निर्मुल भएपनि पूर्ण रुपमा अन्त्य गर्न स्थानीय सरकारले सचेतनामुलक अभियानहरु जारी राखेको दावी गरेका छन् ।

फेरियो अवस्था,महिलालाई सुरक्षा

चौकुने गाउँपालिका वडा नं. ९ की माता विकले अहिले सुरक्षित रुपमा आफूहरु छाउघरमा बस्दै आइरहेको बताइन । ‘घरमा बस्दा देवताले मान्दैन । हाम्रा छोरी बुहारी सबै त्यहि सामुहिक छाउघरमा बस्छन्,’ उनी भन्छिन्, ‘हामी जीवन जिउञ्जेल सरकारको कानून मान्दै छाउ प्रथा मान्न बाध्य छौं । सरकारको नियम मात्रै मान्दा हामीलाई समाजले नै समस्या पारेको छ ।’

यता, चौकुने गाउँपालिका वडा ९ का अध्यक्ष नवराज जैसीले आफूहरुले बारम्बार छाउ नबार्न भनेपनि निषेध गर्न नसकेको स्वीकार गरे । ‘नबार्नुस भन्छौं कोही मान्दैन् । उनीहरुमाथि बल प्रयोग गर्न पनि सकिदैन,’ उनले भने, ‘अब हामी कसैलाई पनि ज्यानमारा छाउगोठमा बस्न दिदैंनौं । जनचेतना अभिवृद्धि गर्न थप कार्यक्रम ल्याउँछौं ।’

महिनावारी भएको समयमा घरपरिवारमा छोए अनिष्ट हुने, देवीदेवता रिसाउने, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासले कर्णालीका पहाडी जिल्लामा महिनावरी भएको बेला अलग्गै गोठमा बस्ने परम्परा कायमै छ । विगत भन्दा अहिले केहि फरक अवस्था छ तर त्यो पर्याप्त छैन ।