२०७७ कार्तिक ५, बुधबार

कर्णालीका सांसदको गुनासो– ‘बजेटमा विभेद भयो’ 

कर्णाली प्रदेशसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा सरकारले विभेदकारी नीति अबलम्वन गरेको गुनासो गरेका छन् । सत्तापक्षकै सांसदले आफ्नै पार्टीको सरकार र मन्त्री हुँदा पनि विरुद्धमा बोल्नुपर्ने बाध्यता आएको दाबी गरे ।

आइतबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत बजेट र योजनामाथि छलफल गर्दै सांसदहरुले यस्तो बताएका हुन् । नेकपाका सांसद चन्द्रबहादुर शाहीले विगतदेखि भनिरहँदा पनि फेरि मन्त्रीमुखी बजेट नै आएको जनाए । ‘रुकुममा सिँचाइतर्फ १७ करोड ८७ लाख हुँदा मुगुमा २ करोड छ,’ उनले भने, ‘अझ मेरो निर्वाचन क्षेत्रमा त ८७ लाख मात्रै परेको छ । क्रमागत योजना भनेर मुगुमा ५० लाख हालिएको छ, १८/१९ वटा योजनालाई यति बजेटले के गर्ने ?’ क्रमागत योजनातर्फ रुकुममा ७० लाख बजेट रहेको भन्दै उनले विभेदकारी बजेट नआओस् भनेर पटकपटक भन्दा पनि सरकारले फेरि उसैगरी बजेट ल्याएको बताए । यस्तै, गरिब लक्षित कार्यक्रममा रुकुममा ५ वटा स्थानीय तहका लागि ४५ लाख छ । तर मुगुमा बजेट शून्य रहेको सांसद शाहीले गुनासो गरे ।

सरकारका मन्त्रीले आफ्नो क्षेत्रलाई मात्रै हेरेर बजेट ल्याउँदा सरकारपक्षकै सांसद भएर पनि समग्र जनताका लागि नभइ आफ्नै निर्वाचन क्षेत्रका लागि लड्नुपर्ने अवस्था आएको सांसदहरुको गुनासो छ । सांसद पदमबहादुर रोकायले बजेटको तारतम्य हेर्दा मन्त्रीलाई धन्यवाद दिने ठाउँ नरहेको बताए । पर्यटन मन्त्रालयले आफ्नो जिल्लामा विनियोजन गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा ५ लाख रुपैयाँ मात्र विनियोजन गरेको जनाए । ‘एउटा कार्यकर्तालाई ३३ लाख दिने मन्त्रीले आफ्नै सांसदलाई ५ लाख दिन लाज मान्नुपर्ने हो,’ उनले भने, ‘यो योजना काटेर तपाईं नै राख्नुस् मलाई चाहिँदैन, यो एकदम गलत छ ।’

सांसद ठम्मरबहादुर विष्टले ३ वर्षमा कुनै पनि क्षेत्रमा सुधारका काम नभएको बताए । सरकारको यस्तो कामले गत वर्षभन्दा डरलाग्दो अवस्था आउने उनको भनाइ छ । प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुको अनुपस्थितिमा पनि सदन चलेकोप्रति दुःख व्यक्त गरे । ‘सदन प्रतिपक्ष, सत्तापक्ष र सरकारको हो,’ उनले भने, ‘तर हामी अनुपस्थित भए पनि सदन चल्यो ।’ उनले आफूहरुको मागबमोजिम डल्लो बजेटलाई टुक्र्याएर रातो किताब ल्याएकोमा सरकारलाई धन्यवाद पनि दिए ।सांसद खड्गबहादुर खत्रीले कृषिमा अनुदान दिने काम बन्द गर्नुपर्ने बताए । वास्तविक किसानले अनुदान नपाएको भन्दै उनले सरकारले अनुदान बाँड्ने नाममा कार्यविधि बनाएर भ्रष्टाचार बढाइरहेको जनाए । कृषि सडक, हाईटेक नर्सरीलगायत योजनामा घोटाला भएको उनको आरोप छ । ‘धेरै योजनाहरु टेण्डर हुन सकेका छैनन्,’ उनले भने, ‘यो वर्ष पनि धेरै योजना डुप्लिकेसन गरेर राखिएको छ, फेरि पनि काम हुँदैन ।’

कांग्रेस सांसद हीमबहादुर शाहीले कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गरे । सरकार पक्षलाई सजग गराउन कांग्रेस तयार रहेको भन्दै उनले सरकारसँग पार्टीको कुनै प्रतिस्पर्धा नरहेको जनाए ।