२०७७ कार्तिक १५, शनिबार

सुस्त कर्णाली : अझैसम्म अपडेट भएन कर्णाली सरकारका वेवसाइटमा नयाँ नक्सा

नेपालको संविधानमा भएको दोश्रो संसोधनबाट संविधानको अनुसूची–३ मा रहेको निसान छाप संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नेपालको नक्सा परिवर्तन भएको छ ।

सरकारको प्रस्तावमा संघीय संसद्ले संविधानको अनुसूची–३ मा रहेको निसान छापसम्बन्धी व्यवस्था संशोधन गरेपछि सार्वजनिक गरिएको निशान छाप सबै सरकारी कामकाजमा प्रयोग गर्न र राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयलाई ४ असारमा नै पत्रकार गरेको थियो ।

नेपालको संशोसन भएको निसान छापलाई कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्ना मातहतका कार्यालयलाई पनि ७ असारमा पत्राचार गर्दै सम्पूर्ण लिखत, पत्रचार, सूचना, वेबसाइट, काम कारबाहीमा प्रयोग गर्न निशान छाप प्रयोग गर्न निर्देशन दिएको थियो ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा सचिवालय, मुख्य न्यायधिवत्ताको कार्यालय, कर्णाली प्रदेश योजना आयोगलाई सम्पूर्ण लिखत, पत्राचार, सूचना, वेबसाइट, काम कारबाहीमा निशान छाप प्रयोग गर्न निर्देशन दिएको भएपनि कुनै कार्यालयले आफ्नो वेबसाइटमा निशान छाप बदलेका छैनन् ।

अरुलाई परिपत्र गरेर निशान छाप बदल्न निर्देशन दिने स्वंयम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा समेत पुरानै निशान छाप छ ।

वेबसाइटमा पुरानै डिजाइन भएको र अब नयाँ होस्ट गर्नु पर्ने भएकाले केही समय लाग्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवत्ता तथा सूचना अधिकारी केशव उपाध्यायले बताए ।

‘अरु सबै अपडेट पुरानै वेवसाइट हुने गरेको छ । वेबसाइट बनाउने कम्पनीले हामीलाई युजर नेम र पासवर्ड मात्र दियो,’ उनले भने, ‘प्राविधिकलाई वेवसाइटको मास्टहेडमा नयाँ संशोसनसहितको नक्सा राख्न लगाउँदै छौं । एक दुई दिनमा नै त्यो काम हुन्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश योजना आयोग, प्रदेश लेखा नियन्त्रक कार्यालय, स्थानीय तहहरुको वेबसाईट लिंकहरुमा निशान छाप बदलिएको देखिदैन् । shilapatra