२०७७ कार्तिक १४, शुक्रबार

मुहार फेर्दै दीपेश्वर धाम, धार्मीक पर्यटनको हव बनाईदै


सुर्खेत, २५ असार ।
कर्णाली प्रदेशको उत्कृष्ट पर्यटनको रुपमा रहेको पञ्चपुरी नगरपालिका र चौकुने गाँउपालिकाको अर्थात भेरी कर्णालीको संगम स्थल दोभान तिर्थ पर्यटनका रुपमा फड्को मार्दैछ । हिन्दुहरुको आस्थाको केन्द्रविन्दु रहेको भारतको गया वनारस लगायत अन्य ठाँउमा मानिसहरु गएर नदिमा डुबुल्की मार्ने पृत आत्माको शान्तिको कामना गर्ने गरेको तपाई हामीले देखेकै छौं । तर त्यही काशी, गया वनारसमा जाने सुन्दर जल तपाई हामी सामु कलकल गर्दै बगिरहेका छन । धार्मिक आस्थाको केन्द्रविन्दुको रुपमा रहेको दोभानमा अहिले पृत मोक्षका लागि धार्मिक महोत्सव समेत भई त्यस क्षेत्रका बासिन्दाले पृत मोक्षका लागि आ–आफ्नो तर्फबाट दान गरि जल अर्पण र डुबल्की मार्दै मृत आत्माको शान्तिको कामना गर्ने स्थानको रुपमा दिन प्रतिदिन परिचित बन्दैछ । आध्यामिक तथा धार्मिक क्षेत्रमा अहिले शिवालय मन्दिरको समेत स्थापना भइसकेको छ ।

धार्मिक मान्यता अनुसार दोभानमा गई डुबुल्की मार्दा सबै पाप नष्ट हुने परम्परागत सोचाई अनुरुप त्यस क्षेत्रका बासिन्दा प्रत्येक पुर्णीमा, औंसिमा , माघे संक्रातीमा दोभानमा गई डुबूल्की मार्ने गरेका छन् । हरेक वर्षको शिवरात्री, नयाँ वर्ष अर्थात वैशाख एक गते र माघ एक गते यहाँ ठूलो मेला लाग्ने गर्दछ । उक्त मेलामा दैलेख, कैलाली, सुर्खेत, बर्दियाबाट हजारौं नागरिकहरु मेला भर्न आउने गर्दछन ।
दाँयाबाट भेरी र बाँयातर्फबाट कर्णाली नदि बगिरहेका छन् । ती नदिको सुसेलीसँगै उक्त पर्यटकीय क्षेत्रले परिवर्तन हुन खोजिरहेको छ । भौतिक संरचनाहरु निर्माण हुने क्रममा छन् ।
वीरेन्द्रनगरबाट झण्डै ६० किलोमिटर पश्चिममा चौकुने गाउँपालिका पर्दछ । चौकुने गाउँपालिका वडा नं. ५ मा भेरी र कर्णाली नदिको दोभान छ ।

उक्त दोभानमा वडा कार्यालयले ९ हेक्टर जमिन संरक्षण गरिरहेको छ । यसलाई संरक्षण गर्नुको खास कारण यो क्षेत्रलाई धार्मीक पर्यटकीय गन्तब्य बनाउनका लागि हो । सुर्खेत र कैलालीको सिमानामा पर्ने यो क्षेत्रमा २०२८ सालमा मन्दिर निर्माण गरिएको हो । ‘ठूलो हावा हुरी आउँथ्यो । धनजनको ठूलो क्षति हुने गरेको थियो । बालीनालीको सत्यानाश हुने, गाउामा कलह भइरहने हुन्थ्यो ।’ वडा अध्यक्ष नवराजदजैशीले भने, ‘त्यो समस्या समाधानका लागि यहाँ मन्दिर स्थापना गर्न भनियो । त्यहि आधारमा दिपेश्वर धाम शीव मन्दिर निर्माण भयो ।

मन्दिर निर्माण भइसकेपछि यहाँ शान्ति छायो । गाउँमा हावा हुरीले गर्ने क्षति कम भयो । हल्लाको स्थानमा सल्लाहले स्थान गाउँमा पायो ।’ उनका अनुसार २०३१ सालपछि यहाँ मेला लाग्न थाले । ‘कासी जान भन्दा यहि आएको खण्डमा पूण्य मिल्ने गरेको छ । विवाह गर्न, श्राद्ध गर्न, पुजा आजा गर्न र बर माग्न हजारौं नागरिक यहाँ आउने गरेका छन् ।’ उनी भन्छन, ‘पन्ध्र वर्षसम्म पनि सन्तान सुख नपाएका दम्पतीले यहाँ दर्शन गरेकै कारण पुत्र प्राप्त गरेका छन् । यहाँ प्राथना गर्न आउनेहरुको मनोकांक्षा पुरा हुने विश्वास छ ।’
यहाँ रहेको होमकुण्डमा आगो बलिरहन्छ । अर्थात निभ्न दिनु हुँदैन भन्ने प्रचलन छ । २०३१ सालदेखि नै निरन्तर रुपमा होमकुण्डमा आगो बालिँदै आईएको छ ।
भौतिक संरचना निर्माणमा तीव्रता
धाममा ६ कोठाको धर्मशाला निर्माण भइसकेको छ । त्यहाँ आउने भक्तजनलाई बस्न समस्या हुने भन्दै प्रदेश सरकारको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयले बजेट विनियोजन गरेको थियो । मन्दिर निर्माण भइरहेको छ । लकडाउनका कारण निर्माण सामाग्री ल्याउन नसक्दा मन्दिर निर्माणमा केहि ढिलाई भएको भएपनि अन्य संरचना निर्माणमा तीव्रता दिइएको छ । गाउँपालिकाको सहयोगमा प्रतिक्षालय निर्माण सम्पन्न भइसकेको छ भने सडक मन्दिरमा पु¥याइसकिएको छ । भेरी नदिमाथि बन्न लागेको पुल निर्माण भएको खण्डमा सोझै गाडी मन्दिर परिसरमै पु¥याउन सकिन्छ । प्रदेश सरकारको एक करोड भन्दा बढि बजेट लगानी भइसकेको छ भने गाउँपालिकाले खानेपानीका लागि धारा जडान गरिसकेको छ । मन्दिरको वरिपरि घेरबार गरिसकिएको छ । प्रदेश सरकारले एक करोड बीस लाख तथा गाउँपालिकालेसात लाख रुपैंया खर्च गरिसकेको छ ।
आगामी योजना
धामलाई थप व्यवस्थित बनाउन पालिका कस्सिएर लागेको छ । धामलाई आर्थिक र धार्मिक गन्तब्य बनाउन भन्दै ¥याफ्टींग गर्ने योजना ल्याएको छ । कर्णालीमा बेनि नदि मिसिएको स्थान देखि दोभानसम्म ¥याफ्टिंग चलाउने योजना बनाइएको छ । यो पचास किलोमिटर भन्दा लामो दुरी भएको वडा अध्यक्ष जैसीको भनाई छ । त्यसकालागि राजी समूदायका युवालाई तालिम दिइदै आइएको छ । दोभान क्षेत्रलाई पिकनिक स्पट बनाउन प्रयास जारी छ । भेरी र कर्णाली नदिमाथि तीन खम्बे पुल निर्माण गर्ने योजना बनाईसकिएको छ भने बजेटको खोजमिा पालिका रहेको अध्यक्ष धीरबहादुर शाही बताउँछन् । ‘हामीले यो क्षेत्रको विकास गर्न र धार्मीक पर्यटनमार्फत चौकुनेलाई समृद्ध बनाउन सक्ने अपेक्षासहित योजना बनाइरहेका छौं । विगतको भन्दा अहिले धेरै भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् । अन्य संरचना निर्माण हुदैछन् ।’ उनी भन्छन्, ‘यो क्षेत्रको प्रचार प्रसार गर्न पालिका लागेको छ । यसमा सबैको साथ र सहयोग पाउन सकेको खण्डमा चौकुनेलाई धार्मीक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिन्छ ।’