२०७७ कार्तिक ५, बुधबार

मुख्यमन्त्रीले लगाएको मकैमा फौजि किराको आक्रमण

सुर्खेत, २५ असार ।
कर्णाली प्रदेश सरकारको नेतृत्व ‘फौजी’ अर्थात कमाण्डर महेन्द्रबहादुर शाहीले गरिरहेका छन् । कोरोना आतंकका बीचमा कर्णालीमा भोक संकट आइलाग्ने बताउँदै मुख्यमन्त्री शाहीले जेठ एक गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, पर्यटन मन्त्रालय, प्रदेश प्रहरी कार्यालय बीचको जमिनमा मकै रोपे । मकै रोप्न प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, उद्योग पर्यटन मन्त्री दल रावल, सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिव, उच्च पदस्थ अधिकारीहरु सहभागि भए ।
‘कर्णालीमा जहिल्यै भोकमरी पर्ने भएका कारण बाँझो जमिन कर्णालीमा नराख्ने र कर्णालीलाई खाद्यान्नमा आत्म निर्भर बनाउने योजना सहित हामीले बाँझो जग्गामा खे ितगर्ने काम सुरु गरेका हौं ।’ मुख्यमन्त्री शाहीले भनेका थिए, ‘विदेशमा पनि कोरोना आतंक छाइरहेको समयमा अन्य देशबाट खाद्यान्न आपुर्ति गर्न हामीलाई समस्या आउन सक्छ, त्यसैले कोही पनि जमिन बाँझो नराखौं ।’
उनले जहिल्यै भन्थे, कर्णालीमा फालेका आलु फल्छन, बारीमा व्यवस्थित रुपमा खेति गरे धेरै फाईदा हुने त भयो नै, जंगलमा बीउ फालेपनि यहाँ उत्पादन हुन्छ र त्यो उत्पादन गर्ने बानी कर्णालीमा हराउँदैछ । विभिन्न संस्थाले कर्णालीका नागरिकलाई अल्छि बनाए । कोदो खाने नागरिकलाई चाउचाउ खान सिकाए । ‘पहिले हाम्रो पुर्खाले चीनसँग व्यापार गथ्र्यो ।’ उनी भन्थे, ‘एनजियो तथा आइएनजियोले कर्णालीमा भोकमरी बढाउन सहयोगी भूमिका खेले । मेहनती कर्णालीवासीलाई अल्छी बनाए ।’ उनले भनेका कुरा ठिकै हुन तर उनले आफैले लगाएको मकैमा हाल ‘फौजी’ आक्रमण भएको छ । मकैको बोटमा गोडमेल गरि रासायनिक मल राखिएको त छदैंछ, कहि पातला र कहि बाक्ला मकै छन् । गोडमेल गरिएको छैन । कहिले गाईले मकै खाइदिन्छन त कहिले रोगले आक्रमण गरिदिन्छन् ।
‘सरकारले रोपेको मकैले राम्रो उत्पादन देला भन्ने अपेक्षा हो । कृषि विज्ञ भएका स्थानमा पनि अवस्था यस्तो छ भने अन्यत्र किसानको बारीमा के हालत होला ?’ वीनपा ७ का कृषक राजकुमार विश्वकर्मा भन्छन्, ‘यो त सरकार माथि फौजी आक्रमण नै भयो ।’ अर्गानिक प्रदेश बनाउने भनिएपनि त्यो अहिले सम्भव नै भएन । सरकार आफैं विषादी र रासायनिक मल प्रयोग गर्छ भने ।’
यता सरकारका प्रवक्त एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले फौजी किराको प्रभाव कम गर्न औषधि वितरण गरिएको बताईन । ‘अर्गानिक प्रदेश हामीले घोषणा गरेका होइनौं ।’ उनी भन्छिन, ‘रासायनिक मल, विषादी न्यूनिकरण गर्ने हाम्रो योजना हो । त्यहि अनुसार हामी अगाडी बढिरहेका छौं ।’ वीरेन्द्रनगर नगरपालिकाले विरोध गरेका कारण सरकारले धेरै चासो नदिएको उनको भनाई छ । ‘नगरपालिकाको विज्ञप्ती आएको तपाइलाई थाहै छ । त्यहि विरोध भएका कारण हामी व्याक भएका हौं ।’ उनी भन्छिन, ‘अब साउन एक गतेको श्रम दिवसमा त्यहाँ गोडमेल गर्ने, अन्य काम गर्ने तयारी गरेका छौं ।’
यस बारेमा कुराकानी गर्न खोज्दा मुख्यमन्त्री शाहीको मोबाइल अफ थियो ।