२०७७ कार्तिक ११, मंगलवार

सुर्खेतका व्यवसायी आन्दोलित, बजार बन्द

सुर्खेत ।

सुर्खेतका उद्योगी व्यवसायीहरुले आइतवार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउँन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

व्यवसायीहरु बैंकिङ्ग कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ्ग कारोबार बहिस्कार गरिएको व्यानर टाँसेका छन् ।

संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुदे मागपत्र र सांकेतिक साँचो बुझाएका छन् ।

मुख्यमन्त्री शाहीले माग सम्बोन्धनका लागि संघीय सरकारसँग पहल गर्ने बताए । लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।

सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको आरोप उनको छ । सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।