२०७७ कार्तिक ७, शुक्रबार

राजिनामा दिन तयार भएकी कर्णालीकी सांसद झोवा, अहिले समय मागेरै सदनमा बोल्न थाल्छिन

सुर्खेत ।
कर्णाली प्रदेश सभा गठन भएको आउने माघमा तीन वर्ष पुग्दैछ । चालिस सदस्यीय प्रदेश सभामा एक मात्र भोटे भाषा बोल्ने सांसद छिन झोवा कामी । तत्कालिन जन्म मुगुको माँग्री गाविसमा भएको थियो उनको । हालको मुगुकार्मारौंङ्ग गाउँपालिका वडा नं. ७ मा पर्छ उनको जन्मघर । मुगुको सदरमुकाम देखि सात घण्टाको पैदल यात्रा पछि उनको गाउँ पुगिन्छ । अहिले कर्णाली प्रदेश सभामा सबैभन्दा चर्चित सदस्यका रुपमा उनी स्थापित भएकी छिन् । उनले सदनमा बोल्ने भनेको थाहा पाए भने सञ्चारमाध्यमले कान खोलेर सुन्छन । अहिले उनी सामाजिक सञ्जालमा भाइरल समेत भइसकेकि छिन् । उनको सदनमा भएको सम्वोधनलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई देखि काँग्रेस प्रवक्त विश्वप्रकाश शर्मालगायतले शेयर गरिसकेका छन् ।
काँक्रा चोरि खाइयो
‘बाल्यकालमा गोठालो जाने गर्थे । गाई, बाच्छी, १५ वटा थिए । झोवा जातको चौरींगाइ हेराउन जान्थ्यौं । बुवा आमा दिदि र म मात्रै थियौं । दिदि विवाह गरेर गईन । उनी चाहि श्रीमानसँगै माइतमा बसिन । नौ वर्षको उमेरमा जंगलमा घाँस काटन जाँदा भीरबाट खसेकी थिएँ । टाउकोमा दाग छ । सानोमा दुइ चार जना साथी मिलेर काँक्रा चोर्ने र खाने गथ्र्यौं । राती चोर्न जान्थ्यौं । कसैले पनि हामीले काँक्रा चोरेर खाएको थाहा पाएनन् ।’ नयाँ नेपालसँग खुलेर कुरा गर्दै उनी भन्छिन,
जर्बजस्ती गराइयो विवाह
उनको विवाह भयो १९ वर्षको हुँदा तर उनको इच्छा विपरित भएको हो । उनको दिदिले विवाह गरेपछि उनका बुवा आमाले घरज्वाई खोजेर विवाह गराइदिए । ‘उक्त विवाह मैले चाहेर गरेकी होइन । जर्बजस्ती विवाह हो । मेरो बाबु आमाले अर्काकोमा भागेर जान्छन कि भनेर घर ज्वाई ल्याउनु भयो । त्यसअगाडी दिदि गइसक्नु भएको थियो । भाइ नभएका कारण मेरो जर्बजस्ती विवाह भयो । म रुदैं थिएँ तर पनि म बाध्य भएँ । मलाई समाजले एक दिन विवाह गर्नेपर्छ भनेर मलाई समाजले फकाए । घरमा ल्याउनेलाई केहि हुँदैन ।’

खस आर्य देखे भाग्ने चलन

उनले पहिलो सन्तान वीस वर्षमै जन्माईन । भोटे समुदायको अनौठो चलन थियो उतिबेला । खस आर्य देख्यो कि लुक्ने काम हुन्थ्यो । ‘हाम्रो चलन के थियो भने खस आर्यहरु गएको खण्डमा हामी लुक्थ्यौं । भोटे भाषा नै प्रयोग गथ्र्यौं । कोहीले लामा भाषामा पढथे । हामीलाई कसैले भनेन । पढने कि काम गर्ने भन्ने कुरा हुन्थ्यो । पुर्खा नै काँग्रेस नै थिए ।’ उनी भन्छिन, ‘२०५८ सालमा गमगढी मा आयौं । ५९ सालमा माओवादीको चहल पहल गाउँमा धेरै थियो । मलाई वडा सभापति बनाएछन् । त्यहि बनाएपछि मलाई घरमै जानै दिएनन् । मेरो घर लुटयो । यार्सागुम्वा लिए । मलाई गमगढी मै मार्न भनेर आए ।’
२०५८ सालदेखि म गमगढी बसेकी हुँ । उतिवेला तत्कालिन गाविसको ८ नम्बर वडाको अध्यक्ष भएकै कारण मलाई माओवादीले लखेटेका थिए । देशमा संकटकाल थियो । यो नै मेरोलागि राजनीतिको आरम्भ थियो भन्ने अहिले लाग्छ । उतिवेला गमगढी जान पनि नसकिने, गाँउ पनि जान नसकिने अवस्था थियो । जंगलै जंगलको यात्रा गरेर म गमगढी आएँ ।
राजनीतिमा धेरै लागेको थिइन । गमगढी आएर राडी पाखी बुन्ने, व्यापार व्यवसाय गर्ने गरेर जीवन गुजारा गरें । गमगढीमै कोठा भाडामा लिएर बस्यौं । सुरुमा धेरै दुःख पायौं । दुनियाको भारी बोक्ने काम गरियो । होटल खोलेर भाँडा धुने काम गर्यौं । जिल्लामा आइसकेपछि राजनीति धेरै भएन । म गमगढीमा जिल्ला कार्य समितिमा दुइ जनाको प्रतिस्पर्धा भयो । सोरु गाउँपालिकाका तुल्सी नेपालीले ७६ मैले ७७ मत ल्याएँ । म एक मतले विजयी भएँ । धेरै खुशी भएँ । एक मतले विजय पाउँदा आफूले गर्व गरें । सबै खुशी पनि भए ।
२०७४ सालमा स्थानीय तहको चुनाव भयो । उक्त चुनावमा उनलाई वडा सदस्य लडन पार्टीले भनेको थियो । ‘म चुनाव लडदैन भने । बुवा वितेको दश दिन मात्रै भएको थियो । त्यहि कारण म चुनाव लडेको थिएँ । मलाई काँग्रेसका नेताहरुले जनजाती, महिला, दलित, विपन्नबाट व्यक्ति छान्न भनेका थिए । मलाई पार्टीले त्याग गरेको भन्दै समानुपातिकमा छानेको हो ।’

राजीनामा दिने सोच आयो
उनी समानुपातिक संसद भइसकेपछि पहिलो पटक सुर्खेत आइन । ‘सुर्खेत आइसकेपछि दुःख पाइयो । पढाई थिएन । भाषा आउँथेन । पाँच वर्ष कहिले जाला भनेर लाग्थ्यो । पहिलो अधिवेशनमा मैले एक शब्द पनि बोल्न सकेन । पत्रकारले समाचार नै लेखे । समाचार लेखेपछि म मा हिनताबोध पनि भयो । मलाई उतिबेला लाग्यो कि मेरो बेइज्जती मिडियाले नै गरायो । मलाई धेरै रिस पनि उठ्यो ।

कुनै पत्रिकामा मेरो बारेको समाचार पहिलो पटक आउँदा म माथि सदनमा बोल्न ठूलो दबाब प¥यो ।’ उनी भन्छिन्, ‘प्रदेश सभाको सभामुख राजबहादुर शाही र मेरो दलका नेता जीवन बहादुर शाहीले बारम्बार सदनमा बोल्न भन्थे । राती बोल्छु भनेर जान्थें तर हलमा जाँदा पसिना छुटथ्यो । २०७५ बैशाख एक गते रारामा मैले कुरा गर्न सक्दैन राजीनामा दिन्छु भनेको थिएँ । त्यहाँ कोर्चुग लामाले मलाई राजीनामा नदिनु पाँच वर्ष सम्म स्थायी जागिर भने । दोश्रो अधिवेशनमा मैले बोलें ।’

उनले बोलेपछि फेरी पत्रकारले सोध्यो, कस्तो लाग्यो भनेर । तर उनले जवाफ दिनै मानिनन् । पत्रकार उल्टा लेख्छौं भनेर भनिन् । तर उनको त्यहि बोलीले उनलाई कर्णालीकै चर्चित सांसद बनाइदिएको उनी अहिले स्मरण गछिन्, । ‘जब मैले बोलें, पत्रकारले मलाई हाइलाइट गराए । खुशी लाग्यो । अहिले त समय मिलेको खण्डमा टक्कर गर्न, बोल्न केहि डर मान्दैन । पालो पाएको खण्डमा ठिकै छ जस्तो लाग्छ ।

यदि मेरो बारेमा समाचार नआएको भए सायद म राजीनामा नै दिन्थें होला । त्यो समाचारले मलाई थप कुरा गर्न, बोल्न, दबाब त दियो नै, सबैले बोल्छन मैले किन नबोल्नु, विग्रे विग्रोस भनेर मैले सदनमा सुरुमा दुइ मिनेट मात्रै बोलें । गाउँमा सिंचाई नभएको, बाटो घाटो नबनेको हुँदा सरकारले बनाइ देओस भनेर भनें ।’ त्यसपछि मलाई सयौंको फोन आएको थियो । त्यो फोनले म मा साहस आयो ।

फलस्वरुप अहिलेको यो अवस्थामा आइपुगेकी छु । उनी भन्छिन् ।
‘सांसद हुनु पनि ठिक छ । योजना दिन पाएको भए, म जस्ता व्यक्तिलाई आउ भन्नु राम्रो छ । हामी जनजाती, दलित, विपन्न व्यक्तिलाई राज्यले अवसर दियो ।

दलले हामीलाई छान्यो । दुःख गरेको फल गाउँमा दिन पाउँदा ठिक लाग्यो । गाउँबाट गाली पनि खाइन्छ, तालि पनि खान्छु । बढि गाली खाइन्छ होला । एक वर्षमा सबैलाई योजना दिन सकिँदैन । आफ्नो दल सरकारमा छैन । काँग्रेस सरकारमा भएको भए जनताका धेरै समस्या सुधार्न सकिन्थ्यो कि जस्तो लाग्छ ।’उनी भन्छिन्, ‘जनताको चित्त बुझाउन पाएको भए मन खुशी हुन्थ्यो । जनताको इच्छा पुरा हुँदैन । सरकारले नदिएपछि हामी के लगौं ।

म संसद भइसकेपछि म जस्तै अरुलाई पनि मौका दिनुपर्ला । पाँच वर्षसम्म दुःख सुखमा रम्छु । भविष्यमा मैले नै संसद हुन पाउनुपर्छ भन्ने मेरो सोच छैन । संसद पद पाएपनि राम्रो नपाए पनि म खुशी छु । नेपाली काँग्रेसले जे भन्छ त्यो मान्छु । मेरो लागि सबैभन्दा ठूलो काँग्रेस नै हो । पार्टीको चाहना बमोजिम म हिडछु ।’