२०७७ श्रावण २४, शनिबार

अवैध उत्खनन जफत गर


लेकबेशी नगरपालिकामा रहेको चिंगाड खोला र भेरी नदिको ठेक्का न्यू देउती कन्स्ट्रक्सनले एक करोड पाँच लाखमा पाएको थियो । उसले आइईई प्रतिवेदन अनुसार जम्मा ५७ हजार घनमिटर माल लिन पाउने थियो तर उसले खोलामा ८० हजार घनमिटर माल थुपारेको पाइएको छ भने उसले असार तीस गते भन्दा पहिले कति लगेको भन्ने विवरण नै छैन । अर्को पवन कन्स्ट्रक्सन नामक कम्पनीले खहरेला, गमखोला र राते खोलाबाट ढुंगा गिट्टी झिक्ने ठेक्का नगरपालिकाबाट लिएको थियो । उसले भ्याटसहित ५२ लाखमा ठेका पाएको थियो । उक्त कम्पनीले ४४ हजार घनमिटर मात्रै उठाउन पाउने भनिएपनि दुइ लाख घन मिटर भन्दा बढि थुपारेको छ । ‘स्याण्ड रिफाइनरी नामक अवैध क्रसर समेत पवन कन्स्ट्रक्सनको नजिकै सञ्चालित छ । यो अवैध क्रसर उद्योग नै हो ।
यसरी हेर्दा जथाभावी खोलानालाबाट अवैध उत्खनन गर्नेहरुको झुण्ड सल्बलाई रहेको छ । जिल्ला अनुगमन तथा समन्वय समिति सुर्खेतले दिएको निर्देशनलाई नै अटेर गर्दै ती ठेकेदारले साउनको बीच महिना आइपुग्दा पनि बालुवा ओसार्ने काम गरिरहेको र अर्बौको माल खोलाको छेउमा थुपारिरहेका छन् ।
देश कानूनी शाशनमा चल्छ, पैसामा होइन भन्ने कुरा बुझ्न जरुरी छ । एकाध केहि व्यक्तिको स्वार्थ अनुकुल चल्ने र त्यो स्वार्थ अनुसार उनिहरुलाई प्रयोग गर्ने परिपाटीको अन्त्य गर्न प्रशासन तयार हुन आवश्यक छ । नगरपालिकाले खोलामा जम्मा गरिएको सबै अवैध उत्खनन नियन्त्रणमा लिइ लिलाम बढाबढ विक्री गरोस र कर संकलन गरोस । आगामी वर्षमा यसरी मनलाग्दी उत्खनन गर्नेलाई आगामी वर्ष ठेक्का नदिने खालको नीति बनाई अघि बढोस ।

सम्बन्धित समाचार