२०७७ आश्विन १२, सोमबार

बैशाखयता बाढी पहिरोका कारण कर्णालीमा ४३ मृत्यु, ८ वेपत्ता, २८ घाइते

सुर्खेत ।
वढी पहिरोको उच्च जोखिममा रहेको कर्णालीमा २०७७ सालको बैशाखबाट बाढी पहिरोमा परेर कर्णाली प्रदेशमा बैशाखदेखि साउन १९ गतेसम्म ४३ जनाको मृत्यु, ८ जना वेपत्ता, २८ घाइते घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारणले सयौं घरबार बिहिन भएका छन् ।
बाढी पहिरोमा परेर सबैभन्दा बढी मानविय क्षति कालिकोट जिल्लामा भएको र पहिरोको जोखिममा परेर जाजरकोटमा सबैभन्दा बढी विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘कालिकोटमा बाढी पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । ६ जना वेपत्ता र ९ जना घाइते भएका छन् । कालिकोटमा १३ घरमा पूर्ण क्षति र १ सय १५७ घरधुरी बिस्थापित भएका छन् ।’ उनले भने,‘त्यसपछि जाजरकोट जिल्लामा १५ जनाको मृत्यु, २ जना वेपत्ता र ७ जना घाइते भएका छन् भने करिब ५५ घर पूर्ण रुपमा क्षति र करिब ४ सय घरधुरी विस्थापित भएका छन् ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परेर सुर्खेतमा १ जना मृत्यु, ५ घर पूर्ण क्षति, दैलेखमा १ जनाको मृत्यु, ६ जना घाइते, ११ घरमा पूर्ण क्षति, सल्यानमा १ जनाको मृत्यु र रुकुमपश्चिममा ४ जनाको मृत्यु, ६ जना घाइते, ६ वटा घरमा पूर्ण क्षति भएको छ ।
त्यस्तै, बाढी पहिरोका कारणले हुम्लामा ३८ घरमा क्षति भएको र मुगुमा एउटा घरमा क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारणले कर्णालीमा ३ करोड ६७ लाख ३९ हजार ७ सय ७१ रुपैयाँ बराबारको धनमालको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परेर सुर्खेतमा ४५ लाख ७ हजार, दैलेखमा १७ लाख ९५ हजार, जाजरकोटमा ३२ लाख २७ हजार, कालिकोटमा ५६ लाख ५९ हजार ७ सय ७०, रुकुमपश्चिममा २९ लाख १ हजार, हुम्लामा १८ लाख ९८ हजार र मुगुमा ७० हजार रुपैयाँ बराबरको धनसम्पति क्षति भएको प्रवत्ता बास्तोलाले बताए ।