२०७७ आश्विन १२, सोमबार

मन्त्री बुढाद्वारा पूर्वी सुर्खेतमा अनुगमन, पर्यटन नै कर्णाली सम्वृद्धिको पहिलो आधार

सुर्खेत, २३ साउन ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको आमूल रुपमान्तरणको पहिलो आधार पर्यटन भएको बताएका छन् । विहीबार मन्त्रालयबाट भए गरेका काम कारवाहीको विहीबार पुर्वी सुर्खेतमा अनुगमन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । ‘कर्णालीका विकट बस्तीमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटनको विकास गर्ने प्रयास गरिरहेका छौं ।’ उनले भने, ‘यसबाट आम नागरिकको जीवनमा आर्थिक रुपमान्तरण हुने हाम्रो अपेक्षा छ ।’
उनले भेरीगंगा नगरपालिका वडा नं. १० को पर्यटकीय क्षेत्र बराहडाँडा, लेकबेशी नगरपालिकाको शहिद दशरथ पार्क र ऋषि स्मृति प्रतिष्ठान र जहरे बजार देखि झिग्ने पर्यटन सडक, सानो हर्रे २२ घाटे रत्नराजमार्ग ठूलो हर्रे जमेरी पर्यटन सडकको अवलोकन गरेका हुन ।


‘पुर्वी सुर्खेत पर्यटन क्षेत्रको हव हो । डोल्पा जाने सडक यहि पर्छ ।’ उनले भने, ‘हामीले पर्यटनको विकास गरेर मात्रै समृद्धि हासिल गर्न सक्छौं । हामीसँग अथाह प्राकृतिक श्रोत र साधन छन । त्यसको समूचित प्रयोग गर्न हामी लागिरहेका छौं ।’ मन्त्री बुढाले अहिले निर्माण भएका संरचनाले यस क्षेत्रका धार्मीक तथा अन्य सम्पदाको संरक्षण गर्ने बताए ।
‘यी संरचना निर्माणमा प्रदेश सरकारको लगानी मात्रै होइन, तपाई सबैको लगानी हो । तपाईकै करबाट आएको रकम हो ।’ मन्त्री बुढाले भने, ‘हाम्रो एक मात्र उदेश्य पर्यटकीय गन्तव्यले यहाँ आउने पर्यटकमार्फत विकास र समुन्नतीको द्धार खुल्ने अपेक्षा छ ।’
मन्त्री बुढासँगै पूर्व भौतिक विकास मन्त्री खडक खत्री, प्रदेश सभा सदस्य पदमा खड्का, मन्त्रालयका निमित्त सचिव शेरबहादुर श्रेष्ठ, सूचना अधिारी शेरबहादुर रोकाया, स्थानीय लगायतको सहभागिता रहेको थियो ।