२०७७ कार्तिक ९, आईतवार

भेरी अस्पतालका दुई डाक्टरलाई कोरोना संक्रमण

बाँके, ९ भदौं । नेपालगञ्जको भेरी अस्पतालका दुई प्रमुख डाक्टरलाई कोरोना संक्रमण देखिएको छ । अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डे र कोरोनाका फोकलपर्सन डा. संकेत रिसाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यी दुवै डाक्टर कोरोनाविरुद्धको अभियान र उपचारमा प्रत्यक्ष संलग्न रहँदै आएका थिए ।

अस्पतालका फोकलपर्सन डा. रिसाललाई हिजो नै कोरोना पुष्टि भएको थियो भने डा. पाण्डेको मंगलबार कोरोना पुष्टि भएको छ ।

यद्यपि, डा. पाण्डेलाई कोरोना लागेको विवरण सार्वजनिक भइसकेको छैन । अस्पतालले दिउँसो सार्वजनिक गर्दैछ ।

डा. पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिनँ । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ जाँच गर्नु होला । स्वास्थ्य लाभपछि प्लाज्मा डोनेट गर्नेछु ।’

भेरीको मात्रै होइन, नेपालगञ्ज मेडिकल कलेजका केही डाक्टरलाई पनि कोरोना संक्रमण भएको छ । धेरैजसो निको भएर फर्किसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोनाको उपचारमा प्रत्यक्ष खटिएका डाक्टरलाई कोरोना देखिन थालेको बताए ।