२०७७ कार्तिक ३, सोमबार

करार स्वास्थ्यकर्मीको म्याद थप

सुर्खेत । कर्णाली प्रदेश सरकारले करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिष्दको यहि भदौँ १५ गते बसेको बैठकले करार सम्झौताको म्याद साउन एक गते देखि असोज मसान्त सम्म थप्ने निर्णय गरेको हो । शुक्रबार बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशका पाँच वटा नाकामा खटाइएका हेल्थ असिस्टेन्ट ३२ जना, स्टाफ नर्स, अनमी २६ जना गरी ५८ जनाको म्याद थप गरिएको जानकारी दिइन् ।

असोज मसान्त सम्म पनि कोरोनाको प्रभाव एथावत नै रहेको अवश्यकता अनुसार २०७८ असार मसान्त सम्म थप गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । साथै भाइरस नियन्त्रण तथा प्रतिकार्यका लागि खटिएका विभिन्न जिल्लाका एक सय ७६ जना सादुदायिक नर्स, अनमीहरुको पनि श्रावण एक गते देखि ६ महिनाको लागि म्याद थप गरिएको हो ।

बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७, कर्णाली प्रदेश बिशेष कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन निर्देशिका २०७७, प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै कर्णाली प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई मन्त्रिपरिषद्, प्रशासन तथा विधेयक समितिमा पठाई समितिको निर्णयानुसार गर्ने, साविक घरेलु तथा साना उद्योग विकास समिति तर्फका अस्थायी कर्मचारीहरुको म्याद २०७७ साल पौष मसान्तसम्मका लागि थप गरी हाल कार्यरत कार्यालयहरुमा साविककै सेवा सुविधा पाउने गरी कामकाजमा खटाउने व्यवस्था मिलाउने जस्ता निर्णय गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन एकीकृत कार्यविधि २०७७, कार्यक्रम संचालन तथा कार्यान्वयन कार्यविधि २०७७ लाई समेत स्वीकृत गर्ने सरकारले निर्णय गरेको हो ।