२०७७ आश्विन १२, सोमबार

कर्णालीमा थप ९ जनामा संक्रमण, ४२ जना डिस्चार्ज

सुर्खेत ।  पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सात जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा दुई जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा जाजरकोटका तीन, बाँके र दैलेखका दुई, दुई जना, सल्यान, सुर्खेतमा एक, एक जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या दुई हजार दुई सय ८१ पुगेको छ ।
कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ११ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

देशभर १०४१ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४१ जनामा संक्रमण देखिएको छ । देशभरको प्रयोगशालामा १२ हजार चार सय ७५ नमुना परीक्षण गर्दा तीन सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । उनीहरुमध्ये दुई सय ८० जनाको मृत्यु भएको छ भने २७ हजार एक सय २७ कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र एह हजार पाँच सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।