२०७७ कार्तिक १०, सोमबार

कर्णालीमा थप ५१ जनामा कोरोना संक्रमण

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षणमा ४७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा चार जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा ४२ जना सुर्खेतका रहेका छन् । जसमा तीन जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र दुई जना भारतबाट आएका रहेका छन् । भने बाँकी कन्ट्रायाक ट्रेसिङको क्रममा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

यस्तै जुम्लाका पाँच जना, जाजरकोटका दुई जना, दैलेख र रुकुम पश्चिमका एक, एक जनमा संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ६ सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कर्णालीमा थप २६ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या दुई हजार तीन सय सात पुगेको छ । कुल संक्रमण देखिएका मध्ये ६ जनाको मृत्यु भइरहेको छ भने तीन सय ३६ जना सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

देशभर थप ९ सय ८० जनामा संक्रमण

बितेको २४ घण्टामा देशभर नौ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन् ।

यस सँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४६ हजार २५७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १७ हजार २७ छ । त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १८ सय १४ छ भने हालसम्म निको हुनेहरूको संख्या २८ हजार १४८ छ । यो दर भनेको निको हुनेको ६३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १० हजार ३८२ को पिसिआर परीक्षण गरिएको छ ।