२०७७ कार्तिक ६, बिहीबार

नेकपा नेता जिसी र सांसद श्रेष्ठमा कोरोना संक्रमण

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुर्खेतका पार्टी सचिव कृष्ण जिसी र कर्णाली प्रदेशसभाका सांसद दिनबन्दु क्षेष्ठलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा नेता जिसीमा संक्रमण देखिएको छ । भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा सांसद श्रेष्ठमा संक्रमण देखिएको हो ।

संक्रमण देखिए पछि सचिव जिसी होटेल आइसोलेसनमा बसेको बताएका छन् । आफुलाई अहिले सम्म कुनै पनि लक्षण नदेखिएको बताउँदै जिसीले केहि दिनमा नै कारोना जित्न सकिने विश्वास व्यक्त गरे । होम आइसोलेसनमा बस्दा घर परिवार तथा छिमेकीहरुमा त्रास बढ्ने भएकाले होटलमा बसेको उनको भनाई छ । यता सांसद क्षेष्ठ होम आइसोलेसनमा रहेको बताएका छन् । आफुलाई कुनै पनि लक्षण नै नदेखिएको बताएका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई नआत्तिन आग्रह गर्दै उनले सबैको चेकजाँच हुने बताए । जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि जुम्लाको खलंगा बजारमै बसेका थिए । श्रेष्ठ कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिको अध्यक्ष समेत हुन ।

यो संगै कर्णालीमा पछिल्लो २४ घण्टा थप २५ जनामा संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा एक जनामा संक्रमण देखिएको हो ।

सुर्खेतबाट गरिएको परिक्षणमा राजनीतिक दलका नेता सहित अटो चालक, चिकित्सक, सुरक्षाकर्मीहरु रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बबईबाट गरिएको स्वाप संकलनमा एक जना अटो चालकमा संक्रमण देखिएको जानकारी दिए । यस्तै अन्यमा तीन जना सुरक्षाकर्मी, दुई जना सरकारी कार्यालयका सवारी चालक, एक जना सरकारी कार्यालयका कर्मचारी, एक जना चिकित्सक सहित तीन जना स्वास्थ्यकर्मी र एक जना वर्कसपमा काम गर्ने मानिस रहेको बताएका छन् । यस्तै चार जना प्रदेश अस्पतालमा उपचाररत बिरामी र बाँकी कन्ट्रायाक ट्रेसिङको क्रममा स्थानीयमा संक्रमण देखिएको जानकारी दिए । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ६ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १० संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या दुई हजार तीन सय १७ पुगेको छ । कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ५१ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।