२०७७ कार्तिक ११, मंगलवार

यातायात व्यवासायीद्वारा कार्यगत एकता

सुर्खेत । वीरेन्द्रनगर स्थित बसपार्कमा सञ्चालनमा रहेको सबै यातायात प्रा.लि.हरुले कार्यगत एकता गरेका छन् । बसपार्कमा सञ्चालमा रहेका १२ ओटा यातायात प्रा.लि.ले एकताबद्ध रुपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

एउटै छातामूनी रहेर प्रा.लि.का सबै सेवाहरु आलोपालो नेपाल सरकारले तोकेको भाडा अनुसार सवारी छुटाउने एकताको मुल लक्ष्य रहेको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । कोरोना महामारीमा यातायात व्यवसायीले ठूलो घाटा ब्यहोर्नु परेकाले यात्रुहरुलाई प्रभावकारी सेवा र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्ने गरी कार्यगत एकता गरिएको सापकोटाको भनाई छ ।
एकताको संयोजकमा मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष विष्णुबहादुर खड्का रहेका छन् भने सदस्यहरुमा अन्य प्रा.लि.का अध्यक्षहरु रहेका छन् । यस्तै, कार्यगत एकताको व्यवस्थापन समितिमा भने मध्यपश्चिमाञ्चल यातायात व्यवसायीका सचिव नारायण चपाईँ रहेका छन् । समितिको सदस्यहरुमा अन्य प्रा.लि.का सचिवहरु रहेका छन् । संयोजकको जिम्मेवारी एक जनालाई तोकेपनि भूमिका भने सबैको समान रहने व्यवस्था गरिएको व्यवसायीहरुको भनाई छ ।

‘विगतमा बसपार्कमा यात्रुहरुले झेल्नु पर्ने समस्यादेखि प्रा.लि.का पदाधिकारी र कर्मचारीहरुबिच मनमुटावलाई यो एकताले सहयोग पुग्ने अपेक्षा छ ।’ अध्यक्ष सापकोटाले भने, ‘नेपाल सरकारले तोकेको भाडादरमा सवारी पुग्ने ठाउँका सबै यात्रुहरुलाई सेवा प्रदान गर्ने हो, सवारी विगतमा जसरी छुटाइन्थ्यो त्यसैगरी एकतापछि पनि छुटाइन्छ ।’