२०७७ कार्तिक ७, शुक्रबार

ठाउँ–ठाउँमा सिल मात्रै, परीक्षण न्यून

भेरीगंगा नगरपालिका १२ स्थित छिन्चु बजार ।

सुर्खेत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राखेर भेरीगंगा नगरपालिकाका मुख्यमुख्य ठाउँहरु सिल गरिएको छ । नगरपालिकाका वडा नम्बर ६, ९ र १२ नम्बर वडाका विभिन्न ठाउँ सिल गरिएको हो । वडा नम्बर ६ र ९ का जहरे बजार र झिंगनी बजारमा भदौँ २१ गतेबाट २८ गते राती १२ बजे सम्म सिल गरिएको छ ।

यस्तै मंगलबार नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले वडा नम्बर १२ को छिन्चु बजार र आसपासका ठाउँमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जस अन्तर्गत पूर्वमा चिप्लेखोला, पश्चिममा भेरीपुल, उत्तरमा राताचौर र दक्षिणमा हर्रै सम्म २३ गते राती १२ बजे देखि ३० गते राती १२ बजे सम्मको लागि सिल गरिएको जानकारी दिएको छ ।

भेरीगंगा नगरपालिका मात्रै नभएर प्रदेशका अन्य विभिन्न स्थानीय तहले कोरोना भाइरस समुदायमा फैलिन नदिन भन्दै बेला बेलामा सिल गर्दै आए पनि परिक्षण भने न्यून मात्रामा हुने गरेको छ ।
भेरीगंगा नगरपालिकामा गएको चैत्र ११ गते यता एक हजार एक सय जनाको मात्रै स्वाब संकलन गरिएको छ । ती मध्ये एक हजार ८३ जनाको पिसिआर परिक्षण भएको छ भने १७ जनाको चेकजाँचकै क्रममा रहेको छ । नगरपालिकाका कोरोना फोकल पर्सन धिरेन्द्र घर्तीले त्यसबाट हाल सम्म ८८ जनामा कोरोना पोजेटिभ देखिएको बताए । पोजेटिभ देखिएका मध्ये ७८ जना उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् भने १० जना उपचाररत रहेको जानकारी दिए । साथै मंगलबार थप चार जनामा संक्रमण देखिएको जानकारी दिए ।

नगरपालिकाको पिसिआर परिक्षणको तथ्याङ हेर्दा भदौँ १६ गते यता दुई सय जनाको मात्रै स्वाब संकलन गरिएको छ । फोकल पर्सन घर्तीले १६ गते एक सय ६० जना, १९ गते २३ जना र २३ गते १७ जनाको स्वाब संकलन गरिएको जानकारी दिए । ति मध्ये २३ गते संकलन गरेको स्वाब प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र अन्यको रिर्पाेट क्रमश आइरहेको जानकारी दिए ।

परिक्षणको दायरा नबढाएर बेला बेलामा सिल मात्रै गर्दा व्यवसायी तथा स्थानीय बासीले आक्रोस पोखिरहेका छन् । परिक्षणको दायरा नबढाए अर्को पटकबाट बजार बन्द नगर्ने उद्योग वाणिज्य संघ भेरीले जनाएको छ । उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकालले नगरपालिकाले यो बिचमा परिक्षणको दायरालाई तिव्र पार्ने बताएका कारणले उक्त निर्णयलाई साथ दिएको बताए । यदि यो पटक पनि चेकजाँच तिव्र गतिमा भएन भने अर्को पटकबाट सिल नमान्ने बताए । यस अघि हरितालिका तिज तथा अन्य विभिन्न समयमा नगरपालिका क्षेत्रमा सिल भए पनि परिक्षण सुन्य भएको उनको गुनासो छ ।

यता नगरपालिकाले भने यस पटक परिक्षणको दायरा बढाएको बताएको छ । नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले यो बिचमा रिर्पोट पोजेटिभ देखिएकाबाट कन्ट्रायाक ट्रसिङलाई तिव्रता दिने बताएका छन् ।
‘केहि स्थानीयमा संक्रमण देखिए पछि हामीले थप मानिसमा नदेखियोस भनेर सिल गरेका हौँ,’ उनले भने, ‘थप परिक्षण गर्ने बारे स्वास्थ्यकर्मीहरु संग हामीले समन्वय गरिरहेका छौँ । उहाँहरुले परिक्षण बारे रणनीति बनाउँदै हुनुहुन्छ ।’

सिल नगरेको खण्डमा पछि झनै संक्रमण फैलिने हो की भन्ने डरले सिल गरिएको उनको भनाई छ । साथै यो अवधिमा अत्यावश्यक र औषधी पसल बाहेक अन्य आवतजावतमा बैंक तथा वित्तिय संस्थाहरु बन्द गरिने बताइएको छ ।