२०७७ कार्तिक १०, सोमबार

रित्तिदै कर्णालीका क्वारेन्टिन, परिक्षण समुदाय केन्द्रीत

सुर्खेत । विदेशबाट आएर क्वारेन्टिनमा बस्ने मानिसहरुको संख्या घट्दै गए संगै कर्णालीमा परिक्षणलाई समुदायमा केन्द्रीत गरिएको छ । पछिल्ला केहि दिन यता समुदायमा धेरै मानिसमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिए पछि कन्ट्रायाक ट्रेसिङकोको कामलाई तिव्रता दिएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले संक्रमण देखिएकाहरुको सम्पर्कमा रहेका अन्य मानिसहरुमा परिक्षणलाई तिव्रता दिएको बताएको छ । विशेष गरी समुदाय क्षेत्रमा विभिन्न कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिज्ञ, व्यापारी, जनप्रतिनिधिहरुमा संक्रमण देखिरहेको छ ।

समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले विदेशबाट आउनेको संख्या एकदमै न्यून भए पछि समुदाय तर्फ कन्द्रीत भएको बताए । ‘संक्रमण देखिएकाहरुको सम्पर्कमा आएका मानिसहरुलाई अहिले पिसिआर परिक्षण गरिरहेका छौँ,’ उनले भने, ‘पछिल्लो समयमा संक्रमण पनि बाहिरबाट आउने भन्दा समुदायकै मानिसहरुमा धेरै देखिएको छ ।’ हाल दैनिक पाँच सय देखि आठ सय जनाको पिसिआर परिक्षण हुने गरेकोमा त्यसलाई बढाएर एक हजार पु¥याउने योजना रहेको समेत जानकारी दिए ।

मन्त्रालयले दिएको तथ्याङ्क अनुसार दैनिक ५० देखि एक सय जना मानिसहरु भारत तथा तेस्रो मुलुकबाट कर्णाली प्रदेश प्रवेश गरिरहेका छन् । बाहिरबाट आउनेको संख्या घटे पछि क्वारेन्टिनको संख्या समेत घटेको छ । मन्त्रालयका अनुसार हाल प्रदेशभर ६ सय २२ जना विभिन्न क्वारेन्टिनमा बसिरहेका छन् । ति मध्ये सुर्खेतमा सबै भन्दा बढि दुई सय ८४ जना रहेको बताइएको छ । भने तीन सय ५६ वटा क्वारेन्टिन रहेका छन् । प्रदेशका धेरै जसो क्वारेन्टिनहरु रित्तिएको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले कर्णाली प्रवेश गर्ने प्रमुख नाका बबईबाट दैनिक १६ सय भन्दा बढि मानिस कर्णाली भित्रिए पछि भारत तथा तेस्रो मुलुकबाट आउनेको संख्या १५ देखि ३० सम्म रहेको जानकारी दिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले भने, ‘भारत तथा अन्य तेस्रो मुलुकबाट आउनेहरुलाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ । सुर्खेतमा दैनिक १५ देखि २० जना क्वारेन्टिनमा थपिने गरेका छन् ।’ विदेशबाट आउनेको संख्या घटेपछि क्वारेन्टिन अझै रित्तिदै जाने उनको भनाई छ ।

थप ६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ६ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सुर्खेतका चार जना र सल्यानका दुई जना रहेका छन् । यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमितको संख्या दुई हजार सात सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या दुई हजार तीन सय ६४ जना पुगेको छन् । कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ५५ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।