२०७७ आश्विन १२, सोमबार

कर्णालीमा लक्षण सहितका संक्रमित बढ्दै, १० प्रतिशत बढिमा लक्षण

सुर्खेत । कर्णालीमा कोरोना भाइरसको लक्षण सहितका सङक्रमितहरु बढ्न थालेका छन् । पछिल्ला केहि हप्ता यता देखिएका नयाँ संक्रमितहरुमा धेरै मात्रामा लक्षण देखिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन तथा कन्सल्ट्रयाण्ड फिजिसिएन डा. प्रदिप न्यौपानेले पछिल्लोे तिन हप्ता यता लक्षण सहितका बिरामीहरु धेरै देखिन थालेको बताए ।

‘यो भन्दा पहिला दुई देखि तिन प्रतिशत संक्रमितमा मात्रै लक्षण देखिने गरेकोमा अहिले अहिले १० प्रतिशत भन्दा बढि बिरामीमा लक्षण देखिएको छ,’ उनले भने, ‘लक्षण देखिएका मध्ये पहिला भारत तथा तेस्रो मुलुकबाट आएकाहरु थिए भने अहिले स्थानीयलाई धेरै लक्षण देखिएको छ । पछिल्लो एक हप्ता यता त झनै लक्षण सहितका बिरामी १५ देखि २० प्रतिशतले बढेका छन् ।’

हाल प्रदेश अस्पतालमा एक सय एक जना संक्रमितहरु उपचाररत भएकोमा १५ देखि २० जनामा लक्षण देखिने गरेको उनको भनाइ छ । यो भन्दा पहिला एक सय एक बिरामी भएको अवस्थामा दुई देखि पाँच जनामा लक्षण देखिने गरेकोमा अहिले बढेको बताए ।

झण्डै तिन महिना यता सम्म कुनै पनि संक्रमितको मृत्यु नहुनु देशभरको तुलनामा संक्रमण र मृत्युदर कम हुन कर्णालीको लागि सकारात्मक कुरा भएको भन्दै डा. न्यौपानेले असोज र कार्तिक महिनामा लक्षण सहितका संक्रमितको संख्या झनै बढ्ने अनुमान गरेका छन् ।

८६ प्रतिशत बढि संक्रमित निको भए

कर्णालीमा कोरोना भाइरसबाट संक्रमित भएका ८६ प्रतिशत भन्दा बढि बिरामीहरु उपचार पछि निको भएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार ८६ दशमलब २७ प्रतिशत बिरामी अर्थात कुल संक्रमण पुष्टी भएका दुई हजार सात सय ७६ मध्ये दुई हजार तिन सय ९५ जना निको भएका हुन ।

यसैगरी दश दिनको आइसोलेसशन बसाई पछि जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा पनि कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

आफु संक्रमणमुक्त भएपछि प्रजिअ थापाले आत्मबल बलियो बनाउँदा कोरोनामाथि बिजय हुन सकिने बताएका छन् । भने एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काममा फर्कीने प्रशासनले जानकारी दिएको छ ।

नयाँ संक्रमित थप २१ जना

पछिल्लो २४ घण्टामा कर्णालीमा थप २१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १९ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा सुर्खेतमा ६ जना, दैलेखका पाँच जना, बर्दियाका तिन जना सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक, एक जनामा संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार सात सय ७६ पुगेको छ । कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भएको छ भने हाल तीन सय ७५ सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको जानकारी दिइएको छ ।