२०७७ आश्विन १२, सोमबार

भेन्टिलेटर, आइसीयु सेवा सहितको कोरोना विशेष अस्पताल सञ्चालनमा

कालिकोट । कालिकोटमा भेन्टिलेटर र आइसीयू सेवासहितको कोरोना विशेष अस्पताल संचालनमा आएको छ । कर्णाली प्रदेश सरकारको झण्डै एक करोड ६० लाखको लागत तथा विभिन्न दाताहरुको सहयोगमा सुविधा सम्पन्न कोरोना विशेष अस्पताल आइतबारदेखि संचालनमा आएको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि जिल्लामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन जिल्ला सदरमुकाममा रहेको एकिकृत भवनमा कोरोना विशेष अस्पताल संचालन गरिएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त कोरोना विशेष अस्पतालको उद्घाटन गरेका छन् । अस्पतालमा एक भेन्टीलेटर सहित पाँच वटा आइसीयू सेवा सहित सञ्चालनमा ल्याइएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सघन उपचार कक्ष (आइसीयू) सेवा सञ्चालन गरिएको हो ।

कार्यक्रममा डा. विज्ञान प्रजापतीले ५४ बेडको उक्त कोरोना विषेश अस्पतालमा एउटा भेन्टिलेटरसहितको पाँच बेडको आइसीयू, ३ वटा कृतिम अक्सिजन दिने मेसिनसहितको सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीको उपचारमा सहज हुने उनले बताए । हाल अस्पतालमा १३ जना कोरोना संक्रमित भर्ना गरिएको छ ।

डा. प्रजापतीले हाल अस्पतालमा जनशक्तिको अभाव भएको बताए । ५८ जना डाक्टरसहितको जनशक्ति आवश्यक भए पछि हाल ३० जना जति जिल्ला अस्पताल, स्थानिय पालिकाबाट काजमा आएको बताए ।

अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसको महामारी रोकथाम तथा नागरिकले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरिने बताए । उनले अब कर्णलीका कुनै पनि जिल्लामा नागरिकहरुले सामान्य बिरामको उपचार गर्न जिल्ला बाहिर गएर धेरै खर्च गर्नु नपर्ने बताए । उनले भने, ‘कर्णालीमा सर्वसाधारणले बिरामको उपचार गर्न घर खेत बेच्नु पर्ने अवस्था थियो । अब त्यसो गर्नु पर्दैन् । हरेक जिल्लामा सुविधा सम्पन्न अस्पताल संचालन गरी नागरिकले जटिल प्रकारको रोग लाग्दा पनि जिल्लामै उपचार सेवा पाउने वातावरण बनाएका छौँ ।’