२०७७ आश्विन १२, सोमबार

समयमा कागजपत्र नपुर्याउँदा बजेट फ्रिज, मुख्यमन्त्री रोजगारको पैसा पाएनन् कामदारले

सुर्खेत । गत आर्थिक बर्षको अन्तिम समयमा मुख्यमन्त्री रोजगार कार्यक्रमको काम हतार हतार गरे पनि हाल सम्म पैसा कामदारले पाएका छैनन् । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पहिलो र दोस्रो किस्ता मार्फत प्रदेशका स्थानीय तहका विभिन्न रोजगार मुलक कामहरु सञ्चालन गरेका थिए । प्रदेशबाट ढिलो बजेट जाँदा कतिपय स्थानीय तहले कार्यक्रम नै सुरु गर्न सकेनन् भने कतिपय स्थानीयतहले समयमा नै सम्पूर्ण विवरण सहितको कागजपत्र पु¥याउन नसक्दा बजेट नै फ्रिज भएको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको दोस्रो किस्ता बापतको ३९ लाख रकम फ्रिज भएको छ । भने पहिलो किस्ता ६४ लाख प्राविधिक मुल्याङ्कन अनुसार काम नभएको भन्दै कामदारले न्यून मात्रामा ज्याला पाएका छन् । भने बाँकी बजेट फ्रिज भएको छ ।

पहिलो किस्ता बापत चार सय ८६ जनाले वडा नम्बर ४,५ र ६ वडामा काम गरेका थिए । भने दोस्रो किस्ता अन्तर्गत सबै वडामा पाँच सय १९ जनाले काम गरेका थिए । पहिलो किस्तामा काम गर्नेले न्यून मात्रामा ज्याला पाए पनि दोस्रो किस्तामा काम गर्नेले बजेट फ्रिज हुँदा हाल सम्म पनि ज्याला पाउन सकेका छैनन् । दोस्रो किस्ता अन्तर्गत गत आर्थिक बर्षको अन्तिम समयमा असारको १४ गते बजेट आएका कारण हतार हतार काम गर्दा समयमा नै सबै फाइलहरु पेश गर्न नसक्दा बजेट भुक्तानी भए पनि पेस्की नपाइएको नगरपालिकाले जानकारी दिएको छ ।

‘त्यस सम्बन्धीका सबै रिर्पोट गत आर्थिक बर्षको अन्तिम दिन सम्म सम्म पठाइसक्नुपर्ने भए पनि प्राविधिकले मुल्याङ्क जस्ता कामले गर्दा ढिला भयो ।’ नगरपालिकाका रोजगार संयोजक लोकराज संज्यालले भने, ‘त्यो समय भन्दा केहि पछि भए पनि हामीले सबै फाइहरु पठाएका छौँ । समय त लाग्छ तर उहाँहरुले पैसा त पाउनु हुन्छ ।’

चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले पक्रियागत रुपमा जाँदा केहि समय ढिला भए पनि कामदारले काम गरेको ज्याला पाउने बताए । ‘विद्युतिय माध्यामबाट कारोबार गर्दा असारको मसान्त सम्म सबै हिसाब पठाउन नसक्दा रोकिएको हो । सिस्टम मार्फत जाँदा त्यो बजेट फ्रिज भएको हो । तर काम गर्नेलाई हामीले त्यो भन्न मिल्दैन ।’

यो समस्या दैलेखकै भैरवी गाउँपालिकामा पनि छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो किस्ता बापत काम गरे पनि कामदारले त्यहाँ पनि ज्याला पाउन सकेका छैनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले पक्रियागत जाँदा पैसा बितरणमा केहि ढिलाई भए पनि बजेट फ्रिज हुन नदिएको बताएका छन् ।

‘पक्रिया मिलाउन ढिला हुँदा हामीले त्यो बजेट गाउँपालिकाको खातामा सारेर राखेका छौँ,’ उनले भने, ‘काम गर्ने सबै मानिसहरुको खाता नम्बर संकलनको काम सकिएको छ । अब एक, दुई दिनमा नै पैसा सबैको खातामा जान्छ ।’ गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो किस्ता गरेर ४४ लाख ६५ हजार बजेट आएको उनको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले रोजगार कार्यक्रम अन्तर्गतको पैसा सम्बन्धीत जिल्लाको सामाजिक विकास कार्यालय र कोष लेखा नियन्त्रण कार्यालय मार्फत सम्बन्धीत स्थानीय तहमा जाने र समयमा नै पक्रिया नपु¥याउँदा प्रदेश सञ्चीत कोषमा फिर्ता हुन्छ ।

पैसा नपाए पछि आक्रोष

काम गरेको पैसा नपाए पछि काम गरेका स्थानीयले आक्रोष पोखिरहेका छन् । कोरोना भाइरसको (कोभिड १९)को माहामारीको समयमा अन्य आम्दानी सुन्य भएको अवस्थामा काम गरेको पैसा पनि समयमा नपाउनु चरम लाप्रवाही भएको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ८ का भिम रिजालले बताए । ‘हामीले १२ दिन काम गरेका थियौँ । तपाईको पैसा काम सकिए लगत्तै आउछ भनिएको थियो, उनले भने, ‘तर भदौँ सकिनै लाग्दा पनि पाइएको छैन । नगरपालिकामा गएर बुझ्दा केहि समय लाग्छ मात्रै भन्छन् ।’