२०७७ आश्विन १२, सोमबार

विद्यार्थी पढाउने वैकल्पिक उपाए खोज्दै विद्यालय

चामुण्डा बिन्द्रासैनी नगरपालिकास्थित हाडाकोट टोलमा कक्षा १ देखि ५ समहुलाई विद्यार्थी पढाउँदै चामुण्डा माध्यामिक विद्यालयका शिक्षक खडानन्द सुवेदी । तस्बिरः नयाँ नेपाल दैनिक

सुर्खेत । कोरोना भाइरस (कोभिड १९) को माहामारीका कारण लामो समय देखि रोकिएको पठनपाठनलाई सुचारु गर्न विद्यालयहरुले विभिन्न बैकल्पिक उपाएहरु खोजिरहेका छन् । माइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द भएको ६ महिना बित्नै लाग्दा पनि जोखिम कम नभए पछि विकल्प खोज्न थालिएको हो ।

यो अवधिभर देशभरका कतिपय विद्यालयले अनलाईन कक्षा सुरु गरेका छन् । सरकारले पनि विद्यालयहरुलाई वैकल्पिक शिक्षा उपाए अपनाउन निर्देशित गरिसकेको छ । निर्देशन संगै कतिपय विद्यालयहरुले टेलिभिजन, रेडियो, टोल शिक्षाबाट विद्यार्थीहरुलाई पढाउन सुरु गरेका छन् । तर पनि यी माध्यामहरु प्रभावकारी नभएको भन्दै बेलाबेलामा प्रश्न उठ्ने गरेको छ ।

तर केहि दिन यता कर्णालीका केहि स्थानीय तहले टोल शिक्षा सुरु गरेका छन् । प्रदेशका सबै क्षेत्रमा अनलाइन, टेलिभिजनको, रेडियोको पहुँच नभएको अवस्थामा यस माध्यामलाई प्रभावकारी माध्यामको रुपमा हेरिएका छ । कर्णालीका दैलेख र सुर्खेतका स्थानीय तहमा यो शिक्षा सुरु भइसकेको छ । भने अन्य स्थानीय तहका विद्यालयहरुले पनि यसको बिषयमा छलफल गरिरहेका छन् ।

सुर्खेतको विकट मानिएको चौकुने गाउँपालिका गाउँ शिक्षा समितिको निर्देशन पछि विद्यालयहरुले टोल शिक्षा मार्फत पठन पाठन सुरु गरेका छन् । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले टोल टोलमा दुरी कायम गरेर पढाउने काम भइरहेको जानकारी दिए । गाउँपालिका रहेको कुल ४९ वटा विद्यालय मध्ये केहिले कक्षा सुरु गरिसकेको र केहिले सुरु गर्ने तयारीमा लागेको उनको भनाई छ ।
‘अहिले टोल टोलमा गएका विद्यार्थीहरुलाई कोरोना सम्बन्धीको जनचेतना फैलाउने पढाउने काम भइरहेको छ, ‘उनले भने, ‘ हाम्रो गाउँपालिका क्षेत्रमा अनलाइन, टेलिभिजन रेडियोबाट पढाउन सम्भव छैन । टोल टोलमा जाने विद्यार्थी, अविभावकको मानसिकता बुझ्ने उद्देश्यले यो सुरु गरिएको हो ।’

अब विद्यालय खोल्नुपर्छ भन्ने जनदबाव आइरहेको समयमा टोल शिक्षा विद्यालय खोल्ने पूर्व तयारी सरह भएको उनको भनाई छ । साथै उनले गाउँ कार्यपालिकाको बैठक बसेर केहि दिनमा नै पूरै विद्यालय खोल्ने तयारी भइरहेको जानकारी दिए । ‘केन्द्रको निर्देशन बैकल्पिक माध्याम अपनाउने मात्रै भनिएको छ,’ उनले थपे, ‘हाम्रो यहाँ अनलाइन, रेडियो जस्ता बैकल्पिक माध्यामबाट सम्भव छैनन् । कोरोनाको त्रास पनि कम हुँदै गएको छ । अब पनि हामी केन्द्रको निर्देशनको पछि लाग्दैनौँ विद्यालय खोल्छौँ ।’

यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकास्थित चामुण्डा माध्यामिक विद्यालयले पनि टोल शिक्षा सुरु गरेको छ । विद्यार्थीलाई टोलटोलमा बिभाजन गरेर पठनपाठन सुरु गरेको हो । माध्यामिक तहसम्म पठन पाठन हुने उक्त विद्यालयमा कृषितर्फ प्राविधिक शिक्षा समेत संचालनमा छ । कृषि प्राविधिक अध्ययनरत विद्यार्थीको भने पठन पाठन दैनिक सुचारु छ । उनिहरुको सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षा बढि फोकस भएकोले लकडाउनको समयमा समेत निरन्तरता दिइएको विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनाले बताए ।

‘लामो समयदेखि अवरुद्ध पठनपाठनलाई टोल शिक्षा मार्फत सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामग्री उपयोग गरेर कक्षा शुरू गरिएको छ ।’ प्रअ तिमिल्सेनाले भने, ‘इन्टरनेट, रेडियो, टेलिभिजनबाट पठनपाठन सम्भव नभएकाले सामाजिक दूरी कायम गरी समूह बनाएर पठनपाठन गर्ने निर्णयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक पुगेका हुन् ।’

यता दैलेखको भैरवी गाउँपालिको पनि पालिकामा रहेको विद्यालयहरु सञ्चालनको लागि विभिन्न बैकल्पिक माध्यामहरुको खोजि गरिरहेको छ । गाउँपालिकाले विद्यालयका शिक्षकहरुलाई असोज एक गतेबाट विद्यालयका हाजिर हुन भनेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक खनालले विद्यालयका प्रअ, अभिभावक, गाउँपालिकाका पदाधिकारीहरु बसेर विद्यालय सञ्चालन गर्ने बैकल्पिक उपाएको बिषयमा छलफल गर्ने बताए । छलफल पछि कुन तरिका अपनाउने निर्णय हुन्छ सोहि अनुसार पढाइ सुरु गर्ने बताए । यी पालिकाहरुका विद्यालयमा मात्रै नभएर कर्णालीका अन्य विभिन्न स्थानीय तहले बैलल्पिक शिक्षाको बिषयमा छलफल जारी राखेको बताएका छन् ।