२०७७ कार्तिक ८, शनिबार

दशकौँदेखि आयोजना अलपत्र, सिंचाई नहुँदा सयौं बिगाह जग्गा बाँझो

भैरवी गाउँपालिका वडा नम्बर २ रावतकोटमा अवस्थित बाँझो जग्गा । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक

सुर्खेत । तल ठूलो खोला बगिरहेको छ तर त्यहि माथि आसपासमा रहको जग्गा बाँझो छ । सिंचाईको लागि कुलो भएका केहि खेतहरुमा धान फले पनि सिंचाईको लागि कुलो नुहँदा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ५ सम्मका विभिन्न ठाउँका सयौँ बिगाह जग्गा बाँझो रहेका छन् । नजिकै रहेको छामघाट खोलाको पश्चिम तर्फका केहि मात्रामा खेतहरु रोपिएका भए पनि पर्याप्त मात्रामा सिंचाई नहुँदा ठूलो मात्रामा जग्गा बर्षौ बर्ष देखि बाँझो रहेको हो । उक्त जग्गामा सिंचाईको लागि ‘गीताचौर सिंचाई आयोजना’ अलपत्र अवस्थामा रहेको छ ।

सिंचाईको लागि नहर निर्माण सुरु भएको दशकौँ बित्दा पनि नबन्दा अन्न फल्ने ठूलो जग्गा बाँझो रहन पुगेको स्थानीयबासीको भनाई छ । समयमा नै सिंचाई आयोजना सम्पन्न भएको भए ठूलो संख्यामा अन्न उत्पादन हुने जग्गा बाँझो रहनुपर्ने अवस्था नआउने भैरवी गाउँपालिका वडा नम्बर २ का सोविन थापाले बताए । ‘तल छामघाट खोला बगिरहेको छ माथि ठूलो जग्गा बाँझो रहन पुगेको छ,’ उनले भने, ‘जग्गा धेरै पहिलाबाट बाँझो रहदै आएको छ । सरोकारवाला तथा निर्माण कम्पनीको लाप्रबाहिका कारणले सिंचाई आयोजना नबन्दा कृषक जग्गा बाँझो छोड्न बाध्य छन् ।’ सिंचाई सुविधा भएको भए कोरोना भाइरस (कोभिड १९)को कारणले बेरोजगार भएका धेरै युवाहरुलाई स्वदेशमै रोगजार मिल्ने समेत उनको भनाई छ ।

वर्षाैंदेखि सिंचाई आयोजना अलपत्र हुँदा किसान सिंचाई सुविधाबाट बञ्च्ति भएको अर्का स्थानीय हेमराज भण्डारीले बताए । ‘सिंचाई आयोजनाको विभिन्न समयमा गरेर आधाजती निर्माण भए पनि अहिले त्यो पनि अलपत्र अवस्थामा छ,’ उनले भने, ‘निर्माण भएको क्षेत्र पनि जीर्ण बन्दै गएको छ । आयोजनामा करोडौं रकम खर्च भए पनि सिंचाई सुविधा पाइएन ।’

आयोजना अन्तर्गत तीनरचारवटा ठेकेदार परिवर्तन भए पनि काम नभएको उनीहरुको भनाई छ । आयोजना महाबु गाउँपालिकाको गीताचौरदेखि भैरवी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म करिब १५ किलोमिटर दूरीसम्म फैलिएको छ । स्थानीयका अनुसार उक्त आयोजना करिब २०४० सालतिर शुरु भएको हो । सिंचाई नहुँदा रोपाइँका लागि बर्खे खोलाको भेल कुर्नुपर्ने किसान पवनकुमार भण्डारीले बताए । ‘आफैँले कुलो बनाएर खेतमा पानी ल्याउन सम्भव छैन,’ उनले भने, ‘त्यसैले आकासे पानी र पानी पर्दा खोलाको भेल कुर्नुपर्छ ।’ उक्त आयोजना अगाडि बढाउन स्थानीय र प्रदेश सरकारले चासो नदिएको उनको भनाइ छ । हाल उक्त आयोजना खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय दैलेख प्रदेश सरकार मातहतमा छ ।

विभिन्न समयमा आयोजनालाई हेर्ने कार्यालयहरु, कार्यालयका कर्मचारीहरु फेरीए पनि आयोजनाले पूर्णता पाउन नसकेको हो । कार्यालयले दिएको जानकारी अनुसार हाल सम्म आयोजना अन्तर्गत चार करोड भन्दा बढि खर्च भइसकेको छ । भने २०६५ साल अघिको बिवरण नै कार्यालय संग छैन । खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोकराज गौतमले आफु कार्यालयमा नयाँ भएकाले केहि दिनमा नै स्थलगत अध्ययन गरेर काम अघि बढाउने बताए ।

‘मैले त्यो आयोजनाको बिषयमा अध्ययन गरिसकेको छु,’ उनले भने, ‘अब हामी स्थलगत अनुगमनमा जाने तयारीमा छौँ । यो एकदमै पुरानो आयोजना हो ।’ आयोजनाको बिषयमा अफिसमा छलफल गरिएको भन्दै उनले अब प्रथामिकताका साथ अघि बढाउने बताए ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले आयोजना निर्माणको लागि आफुहरुले निरन्तर पहल गरिरहेको बताए । निरन्तरको प¥यास पछि प्रदेश सरकार संगको सहकार्यमा योजनाको पुन डिपिआर गर्न लागिरहेको समेत बताए । ‘त्यो जनताको अत्यावश्यक आयोजना हो । बिचमा ठेकेदारको लाप्रवाहिको कारणले त्यो अहिले कालो सुचीमा परेको छ,’ उनले भने, ‘सरकारले लगानी नै गर्न मानेको छैन । गाउँपालिकाले जनताको आवश्यकतालाई मध्यनजर गरेर निरन्तर पहल गरे पनि चालु आर्थिक बर्षमा केहि बजेट आएको छ ।’

यता प्रदेशसभाका सदस्य सुशिल थापाले चालु आर्थिक बर्षमा प्रदेश तथा केन्द्र सरकारले समन्वयमा एक करोड बजेट विनियोजन भएको बताए । ‘आयोजनालाई जति सक्दो छिटो सम्पन्न गरेर निकास दिन हामी लागिरहेका छौँ,’ उनले भने, ‘त्यो रकमले पुन डिपिआरको काम सकिएर लागत स्टिमेट तयार भएर बहुबर्षीय योजनामा जानेछ । बहुबर्षीय योजना अनुसार बजेट संगै निर्माणमा जोड दिएर दुई, तिन बर्षमा नै बनाई सक्ने योजनामा रहेको छ ।’

आयोजना निर्माण नहुञ्जेल सम्मको लागि बाँझो जग्गामा जेनेरेटेर मार्फत सिंचाई पुर्याउने पर्यास गरे पनि त्यसले किसानलाई धेरै आर्थिक भार पर्ने भएकाले त्यो नगरिएको बताए ।