२०७७ कार्तिक ४, मंगलवार

पहिला जस्तै अप्रिय घटना हुने डरले काठमाडौँ जान तयार भए – डा. केसी

 

सुर्खेत । भदौँ २९ गते देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट नेपालगञ्ज लगिएको छ । डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै गए पछि सोमबार दिउसो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समिट एयरमार्फट नेपालगञ्ज लगिएको हो । डा. केसीलाई आज (मंगलबार) काठमाडौँ लगिने बताइएको छ ।

नेपालगञ्ज जानु अघि डा. केसीले यसअघिको सत्याग्रह गर्दा हिंसा र तोडफोड जस्ता अप्रिय घटनाहरु समेत घटेकाले यो पटक पनि हुनसक्ने भन्दै आफू काठमाडौं जान तयार भएको बताएका छन् । माग पुरा नहुञ्जेल सम्म काठमाडौँ गए पछि पनि सत्याग्रह गरी रहने उनको भनाई छ ।

चन्दननाथ– ६ रानीचौरस्थित बाविरामष्टको मन्दिरमा अनसनरत डा.गोविन्द केसीलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर डा. केसीले आफूलाई जर्बजस्ती अपहरण शैलीमा ल्याइएको भन्दै केसीले कुनै पनि उपचार लिन मानेका थिएनन् ।

१९ औं सत्याग्रहको आठौं दिन सोमबार सम्म डा.केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोलीले पनि केसीको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै उपचारका लागि सहज हुने स्थानमा लैजान राम्रो हुने सुझाव दिएका थिए । डा. केसीसँग उनको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा.प्रवीण गिरी पनि छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने डा. केसीको माग छ ।

यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनसमेत माग रहेका छन् ।

बिपक्षी दलद्वारा डा.केसी मागमा ऐक्यबद्धता

डा. केसीको मागमा प्रतिपक्ष दलहरुले ऐक्यवद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका महामन्त्री पूर्णबहाुदर खड्काले सामाजिक संजाल टुइटर मार्फत डा. केसीले अघि सारेका मागहरु वार्ता मार्फत पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

खड्काले भनेका छन,’ ‘स्वास्थ्य क्षेत्रको सुधार र आमनागरिकको पहुचमा सर्बसुलभ स्वास्थ्य सुबिधाको बिस्तार लगायतका आमजनताको हितका माग राखि आमरण अनसनमामा बस्नु भएका डा. गोबिन्द के.सी को स्वास्थ्य अबस्थालाई ध्यानमा राखि संम्बाद द्धारा तत्काल केसिका माग पुरा गर सरकार ।’ यस्तै साझा पार्टी कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल डा.केसीमा माग पूरा गरेर जीवन रक्षा गर्न माग गरेका छन् । यस्तै नयाँ शक्ति नेपाल लगायतका विभिन्न दलहरुले डा. केसीका माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।