२०७७ कार्तिक १४, शुक्रबार

हिमाली जिल्लामा कोरोनाको त्रास, हवाई उडान, यातायात खुलेसंगै संक्रमणको जोखिम

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर हुम्ला विमानस्थल सिमकोटमा तयार गरिएको हेल्थडेस्क । तस्बिरः फाइल फोटो ।

सुर्खेत । आन्तरिक हवाई उडान, सार्वजनिक यातायात सञ्चालनमा आए पछि कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढेको छ । यात्रुहरु हवाई मार्ग तथा स्थलगत मार्ग हुँदै जिल्लामा फर्कीन थाले पछि त्रास बढेको हो । हुम्लामा गएको असोज ४ गते मात्रै जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जिल्लामा पहिलो पटक एक किशोरीमा कोरोना संक्रमण देखिए संगै स्थानीयमा त्रास बढेको बताए । उनलाई भदौ ४ गते कोरोना पोजेटिभ देखिएको थियो । सात दिन पछि उनको ट्राभल हिस्ट्री अनुसार कन्ट्राक टे«सिङ गर्ने उनको भनाई छ ।

‘कोरोना माहामारी सुरु भए यता जिल्ला आउनको लागि पिसिआर रिर्पोट अनिवार्य थियो,’ उनले भने, ‘पछि भदौँ अन्तिम साता केन्द्र सरकारले लक्षण देखिएकामा मात्रै पिसिआर रिर्पोट चाहिने निर्णय गरेसंगै त्यसको असर हुम्लालाई परेको हो । यहाँ संक्रमण देखिएको हो ।’

साथै बढ्दो जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय हुम्लाले असोज पाँच गतेबाट पुन जिल्ला प्रवेश गर्नको लागि पिसिआर रिर्पोट अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।  हवाई मार्गबाट आउनेलाई पिसिआर अनिवार्य भए पनि स्थलमार्गबाट जानेहरुको लागि अनिवार्य छैन । कार्यालय प्रमुख सिंहले स्थलमार्गबाट आउनेहरुको लागि हेल्थडेस्कमा चेक हुने लक्षण देखिएकालाई क्वारेन्टिन वा आइसोलेसनमा राखेर पिसिआर परिक्षण गर्ने बताए ।

हाल हुम्लामा ३ वटा हेल्थडेस्क रहेका छन् । जुन एउटा बाजुराको सिमाना, एउटा मुगुको सिमाना र एउटा सिमकोट विमानस्थलमा रहेका छन् । हवाई, यातायात खुले पछि संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय मुगुले पनि जिल्ला प्रवेश गर्न पिसिआर रिर्पोट अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो ।

तर केन्द्र सरकारको निर्णय विपरित जिल्ला प्रशासनलाई जाने अधिकार नभएको भन्दै निर्णय लागु भने हुन सकेको छैन । मुगुमा हाल सम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

अब दशै तिहार लगायतका चाडपर्वहरु आए संगै मानिसहरुको आवत जावत बढ्ने भएकाले झनै जोखिम बढ्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी दिए । साथै उनले जिल्ला प्रवेश गर्नेहरुको लागि ११ वटा विभिन्न स्थानीय तह र एउटा ताल्चा विमानस्थलमा हेल्थडेस्क राखिएको बताए ।
हुम्ला मुगु संगै डोल्पा, जुम्ला लगायतका ठाउँमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमणको जोखिमलाई ध्यानमा राखेर अहिले देखि नै शत्रकता अपनाउनुपर्ने प्रमुख नगरकोटीको भनाई छ ।

थप ५५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षणमा ४२ जना, चौरजहारी नगरपालिका पिसिआर, प्रयोगशाला, रुकुम पश्चिममा १२ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा एक जनामा संक्रमण पुष्टी भएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या तीन हजार दुई सय २८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमित निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या दुई हजार सात सय १४ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भएको छ । भने पाँच सय आठ जना प्रदेशका विभिन्न आइसोलेसनमा रहेको बताइएको छ ।