२०७७ माघ ३, शनिबार

विद्यार्थीहरु र दलको कडा आपत्ति

cropped-logosमध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दिक्षित गरेसँगै सुर्खेतका राजनीतिक दलहरु र विद्यार्थी संगठनहरुले कडारुपमा आपत्ति जनाएका छन् ।

राजनीतिक दलहरुले पहिलो दिक्षान्त समारोह केन्द्रीय कार्यालयमा नगरी खर्च बढाएर काठमाडौंमा गरिएको भन्दै आपत्ति जनाएका हुन् । राजनीतिक दलहरुले दिक्षान्त समारोहमा सहभागिता जनाएनन् । उनीहरुले विश्वविद्यालयको पहिलो दिक्षान्त कार्यक्रम केन्द्रीय कार्यालयमा नगरी काठमाडौंमा गरिएको भन्दै कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

अनावश्यक खर्च बढाएर काठमाडौंमा कार्यक्रम गरिएकोप्रति राजनीतिक दलहरुले कडारुपमा विरोध जनाएका छन् । मानार्थ विद्यावारिधिजस्तो उच्च सम्मान प्रदान गर्ने बेलामा समेत विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुसँग कुनै समन्वय नगरेको भन्दै दलहरुले आपत्ति जनाएका हुन् ।

यस्तै, विद्यार्थीहरुले मप विश्वविद्यालयले आफ्ना स्नातकोत्तर सकेका विद्यार्थीहरुलाई दिक्षित नगरेर काठमाडौंमा कार्यक्रम गरी घिमिरेलाई दिक्षित गरेकोप्रति आपत्ति जनाएका छन् । विद्यार्थी संगठनहरुले घिमिरेलाई गरिएको सम्मानप्रति कुनै विरोध नगरेको तर मप विश्वविद्यालयका पदाधिकारीहरुको मनोमानी र गैरजिम्मेवार कार्यप्रति रोष प्रकट गरिएको बताएका छन् ।

अनेरास्ववियु, सुर्खेतका अध्यक्ष प्रेम खड्काले विद्यावारिधिको स्वीकृति नलिएको विश्वविद्यालयले मानार्थ विद्यावारिधिको सम्मान गर्न अनौठो भएको बताए । साथै आफ्ना स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरुलाई दिक्षित नगरि लोकप्रियताका लागि काठमाडौंमा कार्यक्रम गरी झमकलाई दिक्षित गरेको उनको भनाइ छ ।

यस्तै, अखिल क्रान्तिकारी, सुर्खेतका अध्यक्ष महेश जिसीले मप विश्वविद्यालयका पदाधिकारीहरुले आफ्नो लोकप्रियताका लागि भावनात्मकरुपमा झमकलाई मानार्थ विद्यावारिधिको सम्मानसहित दिक्षित गरेको भन्दै आपत्ति जनाए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले स्नातकोत्तर गरेका आफ्ना विद्यार्थीहरुलाई दिक्षित नगरेर विद्यावारिधिको स्वीकृति नै नभएको बेला यो नाटक मञ्चन गरेको बताए ।
सबै विषयमा स्नातकोत्तरसमेत सञ्चालन नगरेको मप विश्वविद्यालयले साहित्यकार घिमिरेलाई प्रदान गरेको मानार्थ विद्यावारिधिले घिमिरेको पनि अपमान हुने बताइएको छ । विद्यावारिधि सुरु नगरेको विश्वविद्यालयले मानार्थ विद्यावारिधिको सम्मान दिनु उचित नभएको शिक्षाविद्हरुले बताएका छन् ।