२०७७ कार्तिक ११, मंगलवार

हुम्लामा नेपाली भूमि अतिक्रमण भएको छैन – परराष्ट्रमन्त्री ज्ञवाली

चीनद्वारा लाप्चा क्षेत्रमा निर्माण गरिएका भवनहरु ।

काठमाडौं । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण नगरेको बताएका छन् । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार मन्त्री ज्ञवालीले नेपालको धारणा सार्वजनिक गरेका हुन् ।

सञ्चारकर्मीहरूलाई यो विषयमा लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन समेतले उनले आग्रह गरे । मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ ।’

अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कहीँ कतै समस्या देखा परे भने पनि बसेर छलफल गर्ने सौहार्द सम्बध छँदैछ ।’

चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरन्जीवी गिरीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष सम्मिलित टोलीले स्थलगत अनुगमन गरेर फर्केको छ ।

प्रजिअ नेतृत्वको टोलीमा अनुगमन गरेर फर्केका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनियाँ अधिकारीहरूले ‘त्यो भूमि हाम्रो हो, तपाईहरूको केही कुरा भए सीमानामा गरौंला’ भनेका थिए ।

काठमाडौँमा प्रदर्शन

यस बिच सोहि बिषयलाई लिएर काठमाडौँमा रहेको चिनियाँ दुतावास अगाडी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् ।