२०७७ कार्तिक ६, बिहीबार

सुर्खेतबाट लाइसेन्स वितरण शुरु, पहुँचको आधारमा लाइसेन्स पाइन्छ भन्ने भ्रम चिर्न निर्देशन

नयाँ लाइसेन्स वितरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरिएको छ । बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वितरण कार्यको सुरुवात गरेका हुन ।

लाइसेन्स वितरण गर्दै मुख्यमन्त्री शाहीले पहुँचको आधारमा लाइसेन्स पाइन्छ भन्ने जनस्तरको भ्रम चिर्न यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएका छन् । लाइसेन्स वितरण दलाली, माफियामार्फत हुँदैन भन्ने सन्देश सहितको सेवा प्रभाव गर्न आग्रह गरेका छन् । यातायातको सेवामा ढिलासुस्ती हुन नदिनकालागि कर्णाली सरकारले सुर्खेतबाटै लाइसेन्स छपाई पक्रिया अघि बढाउन गृहकार्य गरिरहेको समेत बताए ।

नयाँ लाइसेन्स लिन नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य गर्दै सबै सेवा सुर्खेतबाट प्रवाह गर्दा सेवाग्राहीलाई सहज भएको भन्दै मुख्यमन्त्री शाहीले कामको चाप थपिएसँगै उत्तरदायी र पारदर्शी सेवा प्रवाहमा कुनै कञ्जुसाई नगर्नु आग्रह गरे । यातायात व्यवस्था कार्यालय अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताउँदै उनले कुनैपनि काममा नागरिक खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने बताए ।

यस अघि यातायात व्यवस्था कार्यालयले २०७६ माघमा लाइसेन्सका लागि अनलाइन फारम खोली प्रक्रिया सुरु गरेको थियो । लाइसेन्सको लागि सबै चरण पार गरेका सवारी चालकलाई बिहीबारदेखि लाइसेन्स दिन थालिएको कार्यालय प्रमुख आनन्द चपाईंले जानकारी दिए । साथै उनले हाल सुर्खेतबाट ६ सय ५९ थान लाइसेन्स जारी भएको र तिनको वितरण कार्य सुरु गरिएको जानकारी दिए । माघबाटै लाइसेन्स जारी गर्ने पक्रिया सुरु भए पनि कोरोना भाइरस (कोभिड १९) को कारणले ढिलो गरी वितरण भएको उनको भनाई छ ।

कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, ट्याम्पो, इरिक्सा, पावर टेलर, ट्याक्टर, बस, मिनिबस र ट्रकको लाइसेन्स दिनेछ । अन्य लोडर, एक्स्काभेटरको लाइसेन्स दिन भने कर्मचारी र जनशक्तिको अभाव रहेको उनको भनाइ छ ।

यातायात सेवा कार्यालयले यसअघि रुट जारी तथा नवीकरण, ब्लुबुक नवीकरण, जाँच–पास, लाइसेन्स नवीकरण र सवारी नामसारी र दर्ता गर्ने काम गर्दै आएको थियो । सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि कर्णालीका नागरिकलाई चालक अनुमतिपत्र लिन नेपालगन्जमा रहेको साबिकको अञ्चल कार्यालय जानुपर्ने बाध्यता टरेको छ । कार्यालय प्रमुख चपाईले नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजश्व संकलन भएको जानकारी दिए ।