२०७७ कार्तिक १२, बुधबार

चैत्र यता ब्यूटीपार्लर व्यवसाय ठप्प, मापदण्ड अपनाएर सञ्चालन अनुमती दिन आग्रह

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै ब्युटीपार्लर व्यवसायी । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक

सुर्खेत । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले चैत्र ११ गतेबाट देश लकडाउन गरेयता ब्यूटीपार्लर व्यवसाय ठप्प छन् । लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायमा संङलग्नहरुले आफुहरुको दैनिकी कष्ठकर बन्दै गएको बताएका छन् ।

साउन ६ गतेबाट लकडाउन हटे पछि हाल सार्वजनिक यातायात, विद्यालय, शैलुन लगायतका व्यवसायहरु सञ्चालन भए पनि आफुहरुको व्यवसाय खोल्ने सन्दर्भमा सरकारी क्षेत्रबाट कुनै निर्णय नभएको उनीहरुको भनाई छ । आइतबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशले सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै निश्चित मापदण्डको पालना गरेर व्यवसाय खोल्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन ।

साउन ६ गतेबाट लकडाउन हटे पनि कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा भदौँ १ गतेबाट १२ गते सम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा हटाउँदा अन्य व्यवसाय सञ्चालन गर्ने निर्णय पनि सुचनाको ७ नम्बर बुदामा ब्युटीपार्लर व्यवसाय सञ्चालन नगर्ने उल्लेख गरेको उनीहरुको भनाई छ ।

हाल सार्वजनिक यातायात, विद्यालय, शैलुन लगायतका सम्पूर्ण व्यवसाय सञ्चालनमा आएका तर आफुहरुको व्यवसाय सञ्चालन गर्ने बिषयमा कुनै पनि आधिकारीक निर्णय नभएको उनीहरुको भनाई छ । सरकारले नागरिकको दैनिक जिवनयापनलाई सरल र सहजीकरण बनाउने बताए पनि ब्यूटिसियनहरु प्रति सम्मान व्यवहार नभएको भन्दै संगठनको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

व्यवसाय सञ्चालन गर्दा सुरक्षाका मापदण्डहरु अपनाउन प्रतिबन्द रहेको जानकारी गराउँदै व्यवसाय खोल्न आधिकारीक निर्णय सहित अनुमति दिन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ । कोरोना संक्रमण हुन नदिन स्वास्थ्य सुरक्षा सम्बन्धी तोकिएका शर्त तथा मापदण्ड अनिवार्य रुपमा पालना गर्न प्रतिवद्ध रहेको, आइतबार देखि शुक्रबार प्रत्येक दिन बिहान ५ बजे देखि साँझ ७ बजे सम्म व्यवसाय सञ्चालन गर्ने र शनिबार पूर्ण रुपमा बन्द गर्न प्रतिवद्ध रहेको उनीहरुको भनाई छ । यस्तै अनावश्यक भिंडभाड नगरी टोकन प्रणालीबाट ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सुर्खेतमा मात्रै हाल ७० भन्दा बढि ब्युटिपार्लर रहेका छन् भने ९० भन्दा बढि ब्युटिसियनहरु रहेका छन् । त्यो मध्ये अधिकांश वीरेन्द्रनगर उपत्याका भित्र रहेका छन् । यसरी लामो समय बन्द हुँदा दैनिक १० देखि १५ हजारका दरले आफुहरुलाई घाटा हुँदै गएको उनीहरुको भनाई छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्दीय सदस्य राधा क्षेष्ठले लामो समय सम्म बन्द हुँदा बैंकको लोन, घरभाडा तिर्न एकदमै समस्या परिरहेको बताइन । ‘यसरी लामो समय सम्म बन्द हुँदा व्यवसायी नै विस्तापित हुनुपर्ने अवस्थामा पुगेको छन्,’ उनले भनिन, ’ ‘सरकारी क्षेत्रबाट आधिकारीक रुपमा व्यसाय सञ्चालन गर्ने अनुमति भएको भए पनि केहि राहत हुने थियो । सुर्खेतमा रहेका व्यवसायी सबैको कोरोना रिर्पोट समेत नेगेटिभ आएको छ ।’

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कर्णाली प्रदेश संगठनकी कोषाध्यक्ष मौरसी क्षेष्ठले दैनिक रुपमा काम गरेर खाने व्यवसाय लामो समय सम्म बन्द रहँदा एकदमै समस्या परेको बताइन् । ‘यो भन्दा पहिला दैनिक व्यसाय सञ्चालन हुँदा एकदमै सहज हुन्थ्यो,’ उनले भनिन, ‘तर अहिले एकदमै समस्या पर्ने गरेको छ । कहिलेकाँही पसल खोल्दा ग्राहकहरु आउन डराउँछन, एकदमै कम मात्रामा आउने गरेका छन् । सरकारी क्षेत्रबाट आधिकारी निर्णय भएको भए उनीहरुको त्रास कम हुने थियो भन्ने हाम्रो विश्वास छ ।’ ज्ञापन पत्र बुझ्दै सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उक्त माग गृह मन्त्रालयमा पठाउने र माथिको निर्णय अनुसार अघि बढ्ने प्रतिक्रिया दिए ।