२०७७ कार्तिक १५, शनिबार

चर्को ब्याज असुल्ने सहकारीमा छापा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चर्को व्याज असुल्ने सहकारी तथा लघुवित्त संस्था माथि छापा मारेको छ । सेवाग्राहीबाट चर्को व्याज असुलेको उजुरीका आधारमा छापा मारिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले प्रशासनमा आएको उजुरी, गुनासोका आधारमा वीरेन्द्रनगरमा रहेका चार वटा सहकारी र एक वटा लघुवित्त संस्थामा छापा मारिएको जानकारी दिए ।

जसमा वीरेन्द्रनगरमा सञ्चालन रहेका बौद्ध जागरण सहकरी संस्था, हिमाली सहकारी संस्था, वातावरण सहकारी संस्था रहेका छन् भने एनआईसी एसिया लघुवित्त संस्थामा समेत छापा मारिएको हो । बुधबार र बिहीबार गरिएको छापामा संघसंस्थाहरुको डकुमेन्टहरु बरामद गरिएको सहायक प्रजिअ महतले जानकारी दिए ।

अत्याधिक मात्रामा उजुरी र गुनासो आए पछि तत्काल नमुनाको रुपमा केहि सहकारीमा छापा मारिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । ‘सेवा ग्राहीबाट चर्को व्याज असुलेको गुनासो आए पछि सम्भाव्य भएका सहकारीमा हामीले छापा हानेका छौँ,’ उनले भने, ‘त्यहाँबाट कागजपत्र बरामद गरिएको छ । त्यसको अध्ययन गरेर बास्तविक कुरा सार्वजनिक गर्ने छौँ ।’

सहकारीहरुले छिटो छरितो ऋण उपलब्ध गराउने तर मनपरी गर्ने जस्ता गुनासाहरु धेरै मात्रामा आएको उनको भनाई छ । यदि कोहि कसैबाट चर्को व्याज असुलेको पाइएमा त्यसको प्रमाण सहित प्रशासनमा उजुरी दिन उनले आग्रह समेत गरे । साथै उनले आवश्यकता अनुसार थप अन्य सहकारी तथा लघुवित्त संघसंस्थाहरुमा छापा मार्न सकिने बताए ।

नियन्त्रणमा लिएका कागजपत्रमा चर्को व्याज असुलेको पाइएमा बैंकिङ ऐन र सहकारी ऐन अनुसार कारबाही गरिने उनको भनाई छ । यदि ऐन अनुसार गम्भिर गल्ती भएको पाइएमा सोहि अनुसारको कारवाहि गरिने र सामान्य भएमा सोहि अनुसारको कारवाहि प्रशासनले गर्ने उनको भनाई छ ।