२०७७ कार्तिक १४, शुक्रबार

एकैदिन प्रदेश अस्पतालका ११ स्वास्थ्यकर्मी संक्रमित

सुर्खेत । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ११ जना स्वास्थ्यकर्मी सहित ५१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोशालामा गरिएको परिक्षणमा चिकित्सक, नर्स लगायतमा संक्रमण पुष्टी भएको हो । यो संगै प्रदेश अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ७० भन्दा बढि पुगेको अस्पतालले जानकारी दिएको छ ।

पछिल्लो समयमा कोरोना समुदया स्तरमै फैलिएका कारण अस्पतालमा जोखिम बढेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. नवराज केसीले जानकारी दिए । ‘पहिला भारत तथा तेस्रो मुलुकबाट आएका मानिसहरुमा मात्रै संक्रमण देखिन्थ्यो,’ उनले भने, ‘अहिले त समुदयाका जो कोहिमा पनि संक्रमण देखिने गरेको छ । अस्पतालका जो कोहि बिरामीबाट संक्रमण फैलिने जोखिम बढेको छ ।’

जोखिम बढ्दै गए पनि आवश्यक सुरक्षाका उपाएहरु अपनाएर निरन्तर लागिरहेको डा. केसीको भनाई छ । संक्रमितहरु अन्य विद्यार्थी, व्यापारी, विभिन्न संघसंस्थाका कर्मचारी, गृहणी लगायतका रहेका छन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षणमा ४२ जना र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा नौ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरु सुर्खेतका ३७ जना, दैलेखका १० जना, कालिकोटका एक जना र अन्य प्रदेशका तीन जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितहुनेको संख्या तीन हजार सात सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४५ जना संक्रमित निको भएका छन् । यो संगै हाल सम्म कुन निको हुनेको संख्या तीन हजार ९० पुगेको छ । कुल संक्रमण पुष्टी भएका मध्ये ६ सय पाँच जना प्रदेशका विभिन्न अस्पताल, आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

७२ बर्षीया वृद्धाको मृत्यु

कोरोना संक्रमण पुष्टी भएकी ७२ बर्षीया एक वृद्धाको शनिबार मृत्यु भएको छ । मस्तिष्क श्राव भएकी सुर्खेतको भेरीगंगा नगरपालिका–६ की ७२ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

अर्धअचेत अवस्थामा शुक्रबार उपचारको लागि प्रदेश अस्पताल ल्याएको उनको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालले जानकारी दिएको छ ।  ‘अस्पताल भर्ना गरिएदेखि नै उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो’ कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भने, ‘गएराती उहाँलाई सास फेर्न समस्या भएपछि भेन्टीलेटरमा राखेर उपचार गरिरहेका थियौं, उहाँको उपचारकै क्रममा मृत्यु भयो ।’

अस्पतालले वृद्धाको विहान स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट नआउँदै दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।