२०७७ कार्तिक १२, बुधबार

विद्यालयको पठन पाठन पुनः बन्द

सुर्खेतको चौकुने गाउँपालिकामा कोरोनाको कहर बिच सञ्चालन गरिएका कक्षाहरु ।   तस्बिरः नयाँ नेपाल दैनिक ।

सुर्खेत । असोज पाँच गतेबाट सञ्चालनमा आएका कालिकोटको नरहरिनाथ गाउँपालिकाका विद्यालयको पठनपाठन पुनः बन्द गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै अर्को सुचना जारी नभए सम्मको लागि बन्द गरिएको हो । गाउँपालिका शिक्षा अधिकृत दुर्गलाल न्यौपानेले असोज १९ (सोमबार)बाट बन्द गरिएको जानकारी दिए । ‘पछिल्ला केहि दिनमा नगहरिनाथ गाउँपालिकामा तीन, चार जनामा नयाँ संक्रमण देखिएको छ,’ उनले भने, ‘दशै आए संगै संक्रमणको जोखिम थप बढेको छ । प्रशासनबाट पनि बन्द गर्न भनिएको छ ।’

सोमबारबाट विद्यार्थीहरुलाई गृहकार्य दिएर पठनपाठन बन्द गरिएको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा रहेको जनप्रभाव माध्यामिक विद्यालय लालुका प्रधानाध्यपाक निर्मलकुमार बिष्टले बताए । ‘विद्यालयको प्रशासनिक काम बन्द हुँदैन,’ उनले भने, ‘गाउँपालिकाको आदेश आए पछि हामीले बन्द गरेका हौँ ।’ पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट आएकाहरु चार, पाँच दिन सुर्खेतमा बसेर सुर्खेतबाट आएको भन्दै खुलेआम हिँड्ने गरेकाले पनि थप जोखिम भएको उनको भनाई छ ।

यता कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले सहज अवस्था सिर्जना भएमा केन्द्र सरकारको निर्णय अनुसार मात्रै विद्यालयमा पठनपाठन सुरु हुने बताए । कालिकोटमा अहिले सम्म विद्यालय सञ्चालमा आएको बारेमा आफुले आधिकारीक रुपमा जानकारी नै नभएको उनको भनाई छ ।

कोरोनाको जोखिम बढ्दै गएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ दैलेखले मंसिर १ गतेसम्म विद्यालयमा विद्यार्थी पठनपाठन राक्ने भनेको छ । कोरोना भाइरस (कोभिड(१९)को महामारीका बिच दैलेखमा संचालन भैरहेका विद्यालयलाइ यस्तो निर्देशन दिएको हो ।

केही शिक्षक र अन्य नागरिकमा समेत कोरोना भाइरस पोजेटिभ देखिएको तथा दशैंका लागि छिमेकी मुलुकबाट नागरिक जिल्लाभित्र थालेपछि संक्रमण जोखिम बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ । सिकाइ सहजीकरण निर्देशिका, २०७७ कार्यान्वयनका लागि टोल सिकाइ, विद्यार्थीमा सृजनात्मक र नवपर्वतनात्मक क्षमता विकास हुने गरि गृहकार्य तथा परियोजना कार्यहरू दिन निर्देशन गरिएको छ ।

यस अघि केन्द्र सरकारले जेठ १८ गते विद्यालयको नियमित पठन पाठन सूचारु गर्न बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ जारी गरेको थियो । तर कर्णालीका अधिकांश ठाउँमा बैलल्पिक पढाई सुरु हुन सकेको थिएन् । बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण कार्यक्रमलाई आधार मान्दै मन्त्रालयले भदौ १९ गते विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ स्वीकृत गरेको थियो । त्यस पछि स्थानीय तहले पठनपाठनमा जोड दिँदै आएका थिए ।

सुर्खेतको जिल्लाको हकमा भने सम्बन्धीत विद्यालयका शिक्षक, विद्यालय र स्थानीय तहको निर्णयका आधारमा विद्यालयमा पठन पाठन सुरु हुनेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बिषयमा विद्यालय, विद्यालयका शिक्षक र स्थानीय तहले छलफल गरेर निर्णय गर्ने बताए ।