२०७७ कार्तिक १२, बुधबार

गम्भिर अवस्थामा बेवारिसे पशु चौपाया, व्यवस्थापन नहुँदा दुर्घटनाको उच्च जोखिम

वीरेन्द्रनगर–४ स्थित जुम्लारोडमा बेवारिसे अवस्थामा छाडा रहेका पशु चौपाया ।  तस्बिरः नयाँ नेपाल दैनिक

सुर्खेत । हाल वीरेन्द्रनगरको बजार क्षेत्रमा जताततै छाडा पशु चौपाया भेटिन्छन् । बजारका चोक–चोक, बिच सडकमा गम्भिर अवस्थामा नेपालको राष्ट्रिय जनाबर गाई लगायतका पशु चौपायाहरु भेटिने गरेका छन् । यसरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा चौपाया छोड्दा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । धेरै सवारी चाप हुन वीरेन्द्रनगरका जुम्लारोड, मंगलगढि चोक तथा अन्य साँघुरा सडकहरुमा मानिस संगै चौपायालाई सास्ती हुने गरेको छ । यसरी पशु चौपायालाई बजार क्षेत्रमा छोड्दा दुर्घटना हुने भन्दै तत्काल व्यवस्थापन गर्नु पर्ने स्थानीयको माग छ ।

कानुनी रुपमा गाईलाई संरक्षण गर्नुपर्ने भनिए पछि त्यो व्यवहारमा लागु नभएको वीरेन्द्रनगर–४ का स्थानीय अभिनन्दन बस्नेतले बताए । ‘गाईको संरक्षण नहुँदा दिन दिनै दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘यदि यसको सहि व्यवस्थापन भएको भए केहि मानिसले रोजगारी पनि पाउथ्ये भने प्राङगारिक मल समेत उत्पादन हुने थियो ।’

यसरी गाई बस्तुहरु बजार क्षेत्रमा छोड्दा दुर्घटना र गलत खानपानले मृत्यु हुने गरेको सोहि ठाउँकै खगेन्द्र प्रसाद आचार्यले बताए । ‘ती गाई बस्तुको उचित मात्रामा संरक्षण सम्ब्रधन भएको भए त्यसबाट राम्रो आम्दानी गर्न सकिन्थ्यो,’ उनले भने, ‘त्यसमा वीरेन्द्रनगर नगरपालिकाको ध्यान जावस ।’

नेपालको संविधानको धारा ९ को उपधारा (३) मा गाईलाई राष्ट्रिय जनावर मानिएको छ । भने संविधानले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापनको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ । तर स्थानीय तहबाट पशु चौपायाको उचित व्यवस्थापन भने हुन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक बर्षमा पशु चौपायाका कारण ५ वटा ठूला दुर्घटना भएको र त्यसबाट दुई वटा गाई मरेका र १० भन्दा बढि घाइते भएको जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले ट्राफिक प्रहरीले आफ्नो क्षेत्रबाट हुने कामहरु गर्दै आए पनि ट्राफिकले एक्लै व्यवस्थापनको काम गर्न नसक्ने बताए ।

‘लकडाउन पूर्ण रुपमा खुले संगै पशु व्यवस्थापनमा झनै चुनौती थपिएको छ,’ उनले भने, ‘हामीले व्यवस्थापनको लागि नगरपालिका संग समन्वय गरिरहेका छौँ । नगरबाट अहिले सम्म केहि सहयोग भएको छैन ।’ तत्कालको लागि छाडा पशुबाट हुने दुर्घटना न्यूनिकरणको लागि चौपायाको सिङ वा निधारण टल्किने सामाग्री बाँधेको अवस्थामा दुर्घटना केहि हत सम्म कम गर्न सकिने उनको भनाई छ ।

यता वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थापनको लागि उचित ठाउँ नहुँदा समस्या भएको बताएको छ । वीरेन्द्रनगर २ मा रहेको गौशाला, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा रहेका गौशाला गाइबस्तुले भरिएको नगरपालिका विपद् व्यवस्थापन र अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले बताए ।

अघिल्ला बर्षहरुमा किसानले पाल्नको लागि लिन आए पनि यो बर्ष कोरोना भाइरसको कारण नआउँदा समस्या परेको उनको भनाई छ । ‘जुम्ला, कालिकोट, दैलेख लगायतका ठाउँबाट किसानहरु लिनको लागि आउनु हुन्थ्यो,’ उनले भने, ‘यो बर्ष पनि केहि मानिसहरु सम्पर्कमा त आउनु भएको छ । तर कोरोनाका कारण लिन आउनु भएको छैन । उहाँहरु लिन आउनु भयो भने यो संख्या घढ्दै जानेछ ।’ नगरपालिकाले पशु चौपायाको उचित व्यवस्थापन गर्दै जैविक मल वायोग्यास उत्पानको लागि वैकल्पिक प्रवद्र्धन केन्द्र लागयतका संघ संस्थाहरु संगै समन्वय गरिरहेको उनको भनाई छ ।