२०७७ कार्तिक ९, आईतवार

१२ बर्षसम्म उपचारको आशमा कर्ण, उपचारको लागि सहयोग गरिदिन अपिल

१२ बर्ष अघि रुखबाट खसेर घाइते भएका कर्ण नेपाली । तस्बिरः नयाँ नेपाल दैनिक ।

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का कर्णबहादुर नेपाली बिरामी भएको १२ बर्ष भएको छ । २०६५ सालमा वडा नम्बर १० अलायचौरमा रहेका एक विद्यालयमा रुखको हाँगा काट्न जाँदा करेन्ट लागेर रुखबाट खसेका कर्णको मेरुदण्ड र दुई वटा खुट्टा भाँचिएका छन् । ५२ बर्षीया कर्णले लामो समय सम्म उचित उपचार नपाएको र स्वास्थ्य अवस्था दिन दिनै बिग्रिदै गएको भन्दै परिवारले उपचारमा सहयोगको अपिल गरेका छन् ।

कर्णको अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै उनकी श्रीमती मिना नेपालीले सहयोग गरेर ज्यान बचाई दिन आग्रह गरेकी छन् । ‘१२ बर्ष भयो उहाँको उपचार गर्न सकेका छैनौँ,’ उनले भनिन, ‘परिवारले जुटाएको पैसा सामान्य उपचार मै सकियो । अहिले थप उपचारको लागि एक रुपैयाँ छैन ।’

रुखबाट खसेका उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र त्यहाँबाट काठमाडौँ लगे पनि प¥याप्त बजेट नहुँदा उपचार गर्न नसकिएको उनको भनाई छ । ‘काठमाडौँ बिर अस्पतालमा लगेका थियौँ । डाक्टरले अप्रेसन गर्नु पर्छ ५ लाख जम्मा गर्नुस भने हामीले समयमै जम्मा गर्न सकेनौँ,’ उनले भनिन, ‘तर पछि मैले आफ्नो अस्थाई लालपुर्जा भएको एक कट्ठा जग्गा आफन्तको जिम्मा लगाएर दुई लाख पैसा लिए । अन्य ठाउँबाट पछि केहि पैसा जम्मा भयो । तर डाक्टरल आज भोली भन्दै महिना दिन कुराए तर उपचार हुन सकेन ।’ महिना दिन सम्म अस्प्तालमा बस्दा उपचार गर्ने खर्च खान बस्नमा नै ठिक्क भए पछि त्यतिकै घर फर्काइएको उनको भनाई छ । घरमा ल्याए पछि हुईल चियरबाट लड्दा पुन घाउ बल्झिएको उनको भनाई छ ।

कर्णका श्रीमती मिना नेपाली, दुई छोरी र तीन छोरा रहेका छन् । ती मध्य श्रीमती मिनाको दुई बर्ष देखि फोक्सोमा इन्फेक्सन भएको छ । भने १२ बर्षीया एक छोरी मानसिक रुपमा अपाङ्ग छिन् । दाउरा, रातो माटो, घाँस बेचेर जसो तसो बच्चा बच्ची हुर्काएकी मिनाले श्रीमानको उपचार गर्न नसकेको बताइन ।

सहयोग माग्न जाँदा दुख मात्रै

श्रीमानको उपचारका लागि सहयोग माग्न प्रदेश सरकारका मन्त्रालयहरु तिर जाँदा दुख मात्रै पाएको मिनाको गुनासो छ । पछिल्लो समय लकडाउनको समयमा वडा नम्बर १० बाट एक बोरा चामल र नगरपालिकाबाट केहि आर्थिक सहयोग बाहेक अन्य सरकारी क्षेत्रबाट केहि पनि सहयोग नभएको उनको भनाई छ ।

‘नगरपालिकाले पाँच हजार सहयोग गरेको थियो । त्यो बाहेक अरु केहि पनि सहयोग भएको छैन,’ उनले भनिन, ‘वडाको सिफारिसमा सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा पटक–पटक जाँदा पनि सहयोग पाउन सकिएन । जान आउनको दुख मात्रै भयो ।’

वडाको सिफारिसमा सहयोगका लागि सामाजिक विकास मन्त्रालयमा दुई पटक पत्र बुझाएको र पटक पटक सहयोग गर्छै भन्दै बोलाए पनि सहयोग नै नभएको उनको भनाई छ । यता मुख्यमन्त्री कार्यालयमा सहयोगको लागि जाँदा कसैलाई भेट्न नै नदिई फर्काइएको उनको भनाई छ ।

कर्णको परिवार बस्दै आएको जग्गाको लाल पुर्जा विगत १२ बर्ष देखि साहुको हातमा छ । श्रीमती मिनाले सय कडा पाँचका दरले ऋण लिए पछि अहिले साहुले पैसा मागे पनि दिन नसकिएको बताइन । त्यति धेरै पैसाको ब्याज नै तिर्न नसकिएको उनको भनाई छ ।

यदि आर्थिक सहयोग भएको अवस्थामा श्रीमानलाई पुन काठमाडौँ वा लखनौ लगेर उपचार गर्ने बताइन । उनलाई सहयोग गर्न चाहानेले श्रीमती मिना नेपालीको नाममा रहेको नेपाल एसबिआई बैंक लिमिटेड सुर्खेतमा रहेको २०८१५२४३४०१०४२ खाता नम्बरमा सहयोग गर्न सकिने छ । भने उनको मोवाईल नम्बर ९८२२४४४१५४ मा सम्पर्क गर्न सकिने छ ।