२०७७ कार्तिक १२, बुधबार

नेकपा कर्णाली विवाद, उत्कर्षमा प्रमुख सचेतक निलम्बन, नयाँ सचेतक नेपालीले बोलाइन् बैठक

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद् झनै उत्कर्षमा पुगेको छ । आइतबार नेकपाकै १८ सांसदले मुख्यमन्त्री तथा नेकपा संसदीय दलको नेता महेन्द्रबहादुर शाही माथि अविश्सवासको प्रस्ताप पेश गरे पछि आएको विवाद प्रमुख सचेतक निलम्वन देखि नयाँ मितिमा संसदीय दलको बैठक आह्रवान गर्ने सम्म पुगेको छ ।

सांसदहरुले संसदीय दलका नेता माथीको अविश्वासको प्रस्ताव प्रदेशसभाका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएको २४ घण्टा नबित्दै मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीले आइतबारकै मिति राखेर सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री शाहीले शाहको कामकारवाही सन्तोषजनक नभएको भन्दै पदमुक्त गरेका हुन् । शाहको ठाउँमा नयाँ प्रमुख सचेतक प्रदेशसभाकी सांसद सीता कुमारी नेपाली तोकिएको छ । अविश्वासको प्रस्ताप पेश भए पछि निलम्बित प्रमुख सचेतक शाहले आइतबार राति नै मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकेका थिए ।

तर मुख्यमन्त्री शाहीले शाहलाई आइतबारकै मिति राखेर पदमुक्त गरेको पत्र थमाएका छन् । नवनियुक्त प्रमुख सचेतक नेपालीले शाहले डाकेको भोलिको बैठक खारेज गरिदिएकी छन् । उनले अब कात्तिक सात गते बिहान ११ बजे बैठक बस्ने जानकारी दिइन् । संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था रहेको उनको भनाई छ ।

अवैधानिक निर्णय मान्ने हुने छैन
निलम्बित प्रमुख सचेतक शाहले मुख्यमन्त्री शाहीले आफुमाथि गरेको निलम्बनको निर्णय अवैधानिक भएकाले मान्य नहुने बताएका छन् । शाहीले आफू अब संसदीय दलको नेता र मुख्यमन्त्री रहन्न भन्ने निश्चित भएपछि हतासमा आफूलाई निलम्बन गर्ने निर्णय गरेपनि उनी अविश्वासको प्रस्ताव दर्ता हुनासाथ आइतबारनै अवैधानिक भएको बताए ।

‘मुख्यमन्त्री शाहीको बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि उहाँको नेतृत्वमा नभई मेरो नेतृत्वमा मगंलबार संसदीय दलको बैठक बस्दै थियो ।’ निलम्बित सचेतक शाहले भने, ’ निलम्बित सचेतक शाहले भने,‘आफू पदबाट हट्ने निश्चित भएपछि र वैधानिकता गुमाएपछि विक्षिप्त, हतास र आक्रोशको मानसिकताबाट ग्रसित भएर मलाई निलम्बन गर्ने भन्ने निर्णय मान्य हुँदैन ।’
शाहले मुख्यमन्त्री शाही आइतबारदेखि संसदीय दलको नेता नभएको, उनी कोमामा गइसकेको र दलको नेता आफू भएकाले बैठक आव्हान गरिसकेको र बैठक पूर्वनिर्धारित समयमै डाकेरै छोड्ने शाहको भनाई छ ।

अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह

अविस्वासको प्रस्ताव पेश गरे पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिच पछि छलफल भएको छ । सोमबार बिहान भएको छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतले जनाएको छ । अध्यक्ष ओलीको समर्थनमा मुख्यमन्त्री शाहीविरुद्ध यस्तो रणनीति अघि बढाइएको बुझाइ अध्यक्ष दाहालको रहेको छ ।

तर, ओलीले भने आफ्नो समर्थनमा यस्तो नभएको बताएका थिए । स्रोतका अनुसार दाहालले ओलीलाई यस्तो अनुरोध गरिरहँदा ओलीले भने प्रस्ट जवाफ दिएनन् । अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताएका छन् ।