२०७७ मंसिर १३, शनिबार

घट्यो दशैंको रमझम

वीरेन्द्रनगरको व्यस्त बजार वीरेन्द्रचोक । फोटोः नयाँ नेपाल दैनिक ।

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण यो बर्षको दशैंको रमझम घटेको छ । घटस्थापना सुरु भए संगै बजार तथा गाउँघरमा सुरु हुने रमझम यो बर्ष देखिएको छैन । कर्णालीमा अन्य क्षेत्र भन्दा कोरोना संक्रमण धेरै फिलिएको वीरेन्द्रनगरमा गत बर्षको तुलनामा दशैंको रमझम न्यून छ ।

कोरोनाका कारण बजार क्षेत्रमा गत बर्षको तुलना ५० देखि ६० ग्राहक घटेको न्यू उपहार फेन्सी हाउस, वीरेन्द्रनगर ६ का सञ्चालक आर.पी पाण्डेले बताए । ‘कोरोनाको माहामारी सुरु हुनु भन्दा पहिले नर्मल सिजनमा हुने जस्तो व्यापार अहिले भइरहेको छ,’ उनले भने, ‘सामान किन्न आउने गा्रहकहरु तर्सित हुदै आउनु भएको छ । यो कपडा व्यवसायको सिजन हो । तर अहिले सिजनमा पनि व्यवसाय राम्रो संग नचल्दा व्यवसाय नै खस्किदो अवस्थामा छ ।’ कोरोनाको जोखिमलाई ध्यानमा राखेर सरकारले जारी गरेका सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गरिरहेको उनको भनाई छ ।

अहिले कोरोनाका कारण विदेशबाट आउने मानिसहरु नआएको भारतबाट आउने मानिसहरु केहि लकडाउनमै गाउँघर गइसकेका र केहि नआएका कारणले पनि व्यवसाय घटको उनको भनाई छ ।
दिन प्रति दिन संक्रमितहरु थपिदै गर्दा मानिसहरुमा दशैँको लागि किनमेल गर्नु पर्छ भन्ने कन्सिप्ट नै हराएको उनले बताए ।

कोरोना भाइरसका कारण दशैँ तिहारमा हुने सम्पूर्ण व्यवसायमा ५० प्रतिशतले घटेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताए । ‘कोरोनका कारणले लामो समय लकडाउन हुँदा त्यसको असर आर्थिक क्षेत्रमा परेको छ,’ उनले भने, ‘निर्माण सामाग्रीको व्यवसाय हुने फागुन, चैत्र, बैशाख, जेठसम्म बजार बन्द रह्यो ।

बिचमा केहि समय व्यवसाय सञ्चालन भए पनि अहिले पुन संक्रमित बढ्दा त्रासका कारण व्यवसाय घटेको छ ।’ विशेष गरी लामो समय शिक्षा, यातायात जस्ता क्षेत्र बन्द हुँदै अधिकांश मानिसहरु बजार क्षेत्र नआएको समेत उनको भनाई छ । अहिलेकै अवस्था रहिरहे तिहारमा समेत व्यवसाय घट्ने उनको भनाई छ ।

कोरोना भाइरसको त्रासकै कारण दशैंको समयमा पनि सुर्खेत बसपार्क सुनसान जस्तै बनेको छ । विगतका वर्षमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको चापले बसपार्क नै भारिराउ हुन्थ्यो भने अहिले न्यून मात्रामा मानिसहरु आउने गरेका छन् ।

देश तथा विदेशका विभिन्न ठाउँबाट वीरेन्द्रनगर पुगेर घर फर्केन यात्रुको चापले यातायात व्यवसायीलाई गन्तव्यमा यात्रु पु¥याउनै हम्मेहम्मे हुन्थ्यो । तर यस पाली कोरोना महामारीको असरका कारण वीरेन्द्रनगरबाट बाहिर जाने नागरिकहरु न्यून संख्यामा मात्रै बसपार्क पुग्ने गरेका छन् ।

घटस्थापना अघि देखि नै वीरेन्द्रनगर देखि दैलेख, कालिकोट, जुम्ला, जाजरकोट लगायतका सडक सञ्जाल पुगेका ठाउँसम्म पुग्न सवारीको अग्रिम टिकट बुकिङ्ग हुने गरे पनि यो बर्ष मुश्किलले १० प्रतिशत यात्रु मात्रै बसपार्क पुग्ने गरेका सुर्खेत काँक्रेविहार यातायात प्रा.लि का अध्यक्ष रमेश सापकोटाले बताए ।

कोरोना महामारीले यातायात क्षेत्रले सबैभन्दा धेरै घाटा व्यहोर्नु परिरहेको उनको भनाई छ । यात्रु नहुँदा खाली गाडी गन्तव्यका लागि छुटाउन बाध्य भएको सापकोटाको भनाई छ । दशैंको समयमा बजार क्षेत्रमा मात्रै गाउँघरमा हुने रमझममा पनि कमी आएको छ ।