२०७७ मंसिर १३, शनिबार

कोरोनाको ग्राफ बढ्दै, एकैदिन १८१ जनामा कोरोना संक्रमण

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशला सुर्खेतमा गरिएको परिक्षणमा एक सय ३४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० जना, दैलेख अस्पताल प्रयोगशालामा २५ जना, कमलबजार नगरपालिका प्रयोगशाला अछाम र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा एक, एक जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका एक सय एक जना, दैलेखका ४०, कालिकोटका १५, जुम्लाका चार, मुगु, जाजरकोट र रुकुम पश्चिमका एक, एक जना, हुम्ला र सल्यानका दुई, दुई जना र अन्य प्रदेशका १४ जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या पाँच हजार तीन सय ५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय एक जना संक्रमित निको भएका छन् । त्यो संगै कुल निको हुनेको संख्या तिन हजार नौ सय ८५ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये १४ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ८५ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।

८६ बर्षीया वृद्धाको मृत्यु

मंगलबार कोरोना संक्रमित उपचाररत ८६ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचाररत वृद्धाको मंगलबार दिउँसो एक बजे मृत्यु भएको हो ।  वीरेन्द्रनगर–८ निवासी वृद्धालाई ज्वरो खोकीको लक्षण सहित असोज ३० गते बेलुका ५ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उनको कार्तिक एक गते बिहान पिसिआरको लागि स्वाव नमुना लगिएको थियो । भने सोहि दिन ७ बजे प्रयोगशालाबाट पिसिआरको रिर्पोट पोजेटिभ आए पनि कोभिड–१९ को सधन उपचार कक्षमा सारिएको थियो ।

उपचारको क्रममा सुधार नभए पछि उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।