२०७७ मंसिर १०, बुधबार

दूर्लभ रेडपाण्डाको छाला सहित चार जना पक्राउ

सुर्खेत । दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतमा चार जना पक्राउ परेका छन् । रेडपाण्डाको छाला (ओखेटोपहार)को कारोबार भइरहेको छ, भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक गोपाल रायमाझिको नेतृत्वमा खटिएको टोलीले वीरेन्द्रनगर–६ गोदामलाइन स्थित पञ्चकोशी होटलको दोस्रो तलाको कोठा नम्बर ३ बाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट एउटा चार फिट र अर्को तीन फिट ६ इन्च लम्बाइ भएको दुइ थान रेडपाण्डाको छाला (ओखेटोपहार) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । छाला संगै चार थान मोवाईल, छाला राख्ने झोला, छाला बेरेको टावेल समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा दैलेख नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ बस्ने ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ बस्ने ४० वर्षीय सबिता थापा रहेको एसपी भट्टले जानकारी दिए ।

‘होटलमा कारोबार भइरहेको अवस्थामा प्रहरीले रेडपाण्डा सहित उनीहरुलाई पक्राउ गरेको छ,’ एसपी भट्टले भने, ‘दैलेखबाट ल्याइएको प्रहरीको अनुमान छ । अहिले त्यस बिषयमा अनुसन्धान भइरहेको छ ।’ दैलेखबाट छाला बच्न आएका उनीहरुले आठ लाख रुपैयाँमा बच्चे कुराकाहानी भइरहेको अवस्थामा फेला पारिएको उनको भनाई छ ।

उक्त बेच बिखनमा संङलग्न रहेका अन्य मानिसहरुको समेत खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइने प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई राष्ट्रिय बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ बमोजमि कारबाहि हुने बताइएको छ ।