२०७७ मंसिर १३, शनिबार

विदेशबाट रोजगारी गुमाएका भन्छन, स्वदेशमै काम गर्न चाहन्छौँ

दैलेख । कोरोना भाइरस (कोभिड १९)को माहामारीका कारण विदेश तथा स्वदेशमा रहेका हजारौँ नेपालीहरुले रोजगारी गुमाएका छन् । भारत तथा अन्य तेस्रो मुलुकमा रहेको नेपालीहरु रोजगार गुमाएर स्वदेश फर्कीएका छन् । यसरी कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएका उनीहरुले स्वदेशमै काम गर्न चाहेको बताएका छन् ।

कोरोनाका कारण भारतको रोजगारी गुमे पछि अब आफुले स्वदेशमै काम गर्न चाहेको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का नविन न्यौपानेले बताए । रोजगारीको क्रममा भारत गएका उनी कोरोना भाइरस (कोभिड १९)को माहामारी कारण काम गर्ने कम्पनी नै बन्द भए पनि स्वदेश फर्कीएका हुन । ‘कोरोनाका कारण लामो समय कम्पनी बन्द भए पछि म लगायत साथीहरु स्वदेश फर्कीएका हौैँ,’ उनले भने, ‘अब फेरी जाने योजना छैन । अब यहि काम गर्न चाहान्छु’ भारतबाट संगै फर्कीएका केहि साथिहरु पुन भारत नै फर्कीए पनि आफु नफर्कीएको उनको भनाई छ ।

यस्तै चामुण्डाबिन्द्रासैनी ८ का पुस्कर गिरीको पनि स्वदेशमै काम गर्ने योजना छ । कोरोना भाइरस तथा घरको पारिवारिक अवस्थामा कारण कतारबाट चार्टर फलाईट मार्फत घर फर्कीएका उनले स्वदेशमै काम गर्ने योजना रहेको बताए ।

दैलेखकै भैरवी गाउँपालिका गगनबहादुर थापाले पनि स्वदेशमै रोजगारी पाएको अवस्थामा विदेश नजाने बताएका छन् । भारतमा होटलमा काम गर्ने उनी गएको चैत्र यताबाट बेरोजगार छन्, ‘होटल राम्रो संग नचलेका कारण साहुले बोलाएका छैन,’ उनले भने, ‘साहुले नबोलाएका कारण म पुन भारत फर्कीएको छैन ।’ अब पुन भारत जाने योजना नरहेको उनको भनाई छ । कोरोनाका कारण विदेशमा रहेका नेपालीले मात्रै नभएर स्वदेशमा रहेका हजारौँ नेपालीले पनि रोजगारी गुमाएका छन् ।

रोजगारी गुमाएका उनीहरुले स्वदेशमै प¥याप्त रोजगारी नभएका कारण बेरोजगार बन्नु परेको बताउँदै आएका छन् । जनताको नजिकको सरकार भएका कारणले जनताले स्थानीय सरकार प्रति धेरै गुनासो पोख्ने गरेका छन् ।

यता स्थानीय तहका जनप्रतिनिधिहरुले भने रोजगारीलाई प्रमुख प्रथामिकतामा राखेर काम गरेको बताउँदै आएका छन् । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले गाउँपालिकामा रहेका बेराजगार युवाहरुलाई स्वरोजगार बनाउन केन्द्रीत भएको बताएका छन् ।

‘१० लाख भन्दा तलका योजनाहरु उपभोक्ता समिति मार्फत गर्ने गाउँपालिकाको योजना छ,’ उनले भने, ‘हाम्रो स्थानीय तहको ६ वटा वडामा नयाँ भवन बन्दै छन् । त्यसमा हामी स्थानीय मजदुरहरुलाई लगाउछौँ । कुनै पनि योजनाको टेण्डर खुलाउदा स्थानीयलाई प्रमुख दिन्छौँ । अन्य स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा स्थानीय जनतालाई प्रमुख प्रथामिकतामा दिएका छौँ ।’

सिप सिकेर उद्यमी बन्न चाहानेहरुका लागि लद्यु उद्यम मार्फत स्वरोजगार बनाउन सकिने बताए । लघु उद्यम कार्यक्रमको लागि चालु आर्थिक बर्षमा ३३ लाख बढी बजेट आएको र केहि स्थानीय तहले थपेर सयौँ युवा युवतीहरुलाई रोजगारी दिन सकिने उनको भनाई छ ।

यता चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले स्वदेशमा काम गर्न चाहालेलाई सिप मुलक तालिम मार्फत रोजगार दिन सकिने बताए । ‘आफ्नो योग्यता, क्षमता र रुची सहित प्रपोजल वा निवेदन लिएर आएको अवस्थामा हामी उनीहरुलाई विभिन्न काममा लगाउँछौँ,’ उनले भने, ‘दक्ष जनशक्तिलाई विभिन्न निर्माण क्षेत्रहरुमा लगाउछौँ, विभिन्न सिप मुलक कामहरु पनि अघि बढाउछौँ ।’ नगर क्षेत्र भित्रबाट यसरी व्यवस्थित तरिकाले कोहि युवाहरु अनाएको भन्दै उनले रोजगारी नभएकालाई रोजगारी दिन सकिने बताए । रोजगारी नपाएका जो कोहिलाई पनि नगरमा आएर रोजगारी माग्न आग्रह गर्दै उनले काम गर्न चाहानेलाई नगरले रोजगारी दिन सक्ने बताए ।