२०७७ मंसिर १३, शनिबार

मदिरा निषेध हैन, व्यवस्थापन गरौँ

सुर्खेत । समाजमा मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने भएकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मदिरालाई कुनै निश्चित क्षेत्रमा व्यवस्थापन गर्न सकिने उनीहरुको भनाई छ ।

ऋति फाउण्डेसनले आयोजना गरेको ‘मदिरा निषेध कि व्यवस्थापन’ सम्बन्धी भर्चूअल बैठकमा सरोकारवालाहरुले यस्तो बताएका हुन । कार्यक्रममा मदिरा व्यवसायी संग रुकुम पश्चिमका अध्यक्ष नविन खड्काले मदिरालाई कुनै निश्चित स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए ।

‘कतिपय स्थानीय तहले मदिरा नियन्त्रण गर्ने निती लिए पनि त्यो हुन सकेको छैन,’ उनले भने, ‘व्यवसायीलाई कुनै निश्चित मापदण्ड नहुँदा साना व्यवसायी मर्कामा परेका छन् । ठूला व्यसायीहरुले बेचिरहेका छन् ।’

‘अहिलको अवस्थामा मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न सम्भब छैन,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न तर्फ अघि बढ्नुपर्छ । सके सम्म मदिरा सेवन नगरौँ यदि गर्नै पर्ने छ भने व्यवस्थित तरिकाले गरौँ ।’

कार्यक्रममा सुर्खेतका व्यवसायी दिनेश खत्रीले मदिरालाई पूर्ण रुपमा बन्द गर्न सम्भव नभएको बताए । ‘यसलाई कदापी रोक्न सकिदैन,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्नु आवश्यक छ । अहिले कतिपय ठाउँमा मदिरा नियन्त्रणको नाममा मदिरा बरामद गरेर नष्ट गरिएको पाइएको छ तर त्यो मानिसले फेरी मदिराको कारोबार गरेको पाइएको छ । व्यवसायीहरुले लुकेर बेच्नुपर्ने अवस्था सिर्जना भएको छ । मदिरालाई बनाउन उसले आफ्नो पेशा ठान्छ भने त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’

कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका शिव पौडेलले मदिरा बिक्रि वितरणको लागि निश्चित क्षेत्रहरु बनाउनुपर्ने बताए ।
कर्णालीका कतिपय स्थानीय तहले मदिरालाई पूर्ण रुपमा नियन्त्रणको निती समेत लिएका थिए । तर तर त्यो कार्यन्वयन भने हुन सकेको छैन । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो तर पछि उच्च अदालतले निषेध नगर्न आदेश दिएको थियो । यस्तै रुकुम पश्चिममा पनि निषेध नगर्न उच्च अदालतले आदेश दिएको दिएको थियो । नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थनीय बजार

व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएको छ । तर स्थानीय सरकारले त्यसलाई पूर्ण रुपमा व्यवस्थापन गर्न सकेका छैनन् ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाहीले मदिरा नियन्त्रण सम्बन्धी सबैको एउटै आवाज हुुनुपर्ने बताइन् ।
‘मदिराले हाम्रो समाजमा खलल पुर्याउने पहिलो कारक तत्व बनेको छ,’ उनले भनिन्, ‘मदिराकै कारणले हाम्रो समाजमा कयौँ हिंसाहरु भइरहेका छन् । बालबालिकाहरु समेत लागु पदार्थमा फस्ने अवस्था छ ।’

मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न नसके पनि व्यवस्थापन गर्न सकिने उनको भनाई थियो । मदिराको लागि कुनै निश्चित क्षेत्र नै छुट्याएर तिन पुस्ते विवरण सहित तोकेर बिक्रि वितरण गनुैपर्ने र निशेष गरिएको ठाउँमा बिक्रीवितरण भएमा कडा कारवाहि हुनुपर्ने उनको भनाइ छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिले मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । जसमा कसैले नियम कानुनको उलंघन गरी घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गरेको पाइएमा उत्पादन गर्ने सामाग्री सहित पहिलो पटक तीन हजार, दोस्रो पटक पाँच हजार, तेस्रो पटक १० हजार र चौथो पटकमा १५ हजार जरिवाना तोकिएको उपप्रमुख शाहीले जानकारी दिइन् ।