२०७७ मंसिर १३, शनिबार

स्थानीयले कब्जा गर्न लागेको ठाउँमा खेल मैदान

वडा नम्बर ८ मा निर्माणाधिन खेल मैदानको अनुगमन गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही सहितको टोली । फोटोः नयाँ नेपाल दैनिक ।

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकतामा राख्दै नगर गौरवका खेल मैदान निर्माण गरेको छ । नगरका विभिन्न वडामा स्थानीयबासीले कब्जा गर्न लागेको सार्वजनिक जग्गामा खेल मैदान निर्माण गरिएको हो । वडा नम्बर ८ को बिन्द्रासैनी र ४ को पोख्रे खालमा नगरगौरवका खेल मैदान निर्माणको काम अन्तिम चरण पुर्याएको जानकारी दिएको हो ।

बिन्द्रासैनीमा खेल मैदान बनाएको स्थानमा यस अघि विभिन्न व्यक्तिहरुले घर, घडेरी रोक्ने, अस्थाई घर निर्माण गर्ने गरेका थिए । नगरले व्यक्तिले कब्जा गर्न लागेको ठाउँमा सार्वजनिक हितका लागि खेल मैदान निर्माण गरिएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए ।

‘नगरमा खुल्ला स्थानहरु जरुरी छ, यो खेलकुदको लागि मात्र प्रयोग नभएर अन्य कामको लागि पनि प्रयोग हुन्छ,’ नगर प्रमुख शाहीले भने, ‘मैदान निर्माण भए पछि सामाजिक मैत्री, वातावरण मैत्री, हुन्छन, भोली सार्वजनिक जग्गा पाइदैनन, भन्ने हिसाबले हामीले सोच बिचारका साथ निर्माण गरेका छौँ ।’

खेल मैदान मात्रै नभई विपद्, दैविक प्रकोपको समयमा खुल्ला स्थानमा बस्तीलाई राख्नुपर्ने भएकाले पनि मैदान जरुरत रहेको प्रमुख शाहीले बताए ।
उनले भने, ‘बालबालिकाको शारिरिक, मानसिक र सामाजिकमैत्री बनाउन खेल मैदानको आवश्यक पर्छ । विभिन्न जातजाती भाषाभाषी धर्मालम्बीका बालबालिकाहरु एउटै स्थानबाट सिकाई आदान प्रदान गर्ने भएकाले पनि मैदान आवश्यक छ ।’ साथै उनले प्रत्येक वडामा वडा स्तरीय खेल मैदान समेत निर्माण भएको समेत जानकारी दिए । त्यति मात्रै नभई टोल टोलमा समेत खेल मैदान निर्माण गर्ने नितीलाई अघि सारेका उनको भनाइ छ ।

बिन्द्रासैनी खेल मैदान निर्माणको अन्तिम चरणमा रहेको वडा नम्बर ८ का वडा अध्यक्ष बिरबहादुर शाहीले जानकारी दिए । ‘यस अघि वनको जग्गा रहेको सो क्षेत्रमा स्थानीयले कब्जा गर्दै गरेको अवस्था थियो, त्यहाँ धेरै मानिसका घर, घडेरीहरु थिए,’ उनले भने, ‘हामीले त्यो नहोस भनेर खेल मैदान निर्माण गरेका छौँ । केहि समयमा नै निर्माण कार्य सकिनेछ ।’ मैदान २ सय १० मिटर लामो र १ सय ९० मिटर चौडाई रहेको उनको भनाई छ । पोख्रे खाल खेल मैदान पनि निर्माण कार्य जारी रहेको वडा नम्बर ४ ले जानकारी दिएको छ ।

बिन्द्रासैनी खेल मैदान निर्माणको लागि नगरले आर्थिक बर्ष २०७४,०७५ मा १५ लाख, २०७५,०७६ मा १३ लाख र २०७६,०७७ मा १३ लाख बजेट छुट्याएको छ भने पोख्रे खालको लागि आर्थिक बर्ष २०७४,०७५ मा ४० लाख, २०७५,०७६ मा ३० लाख र २०७६,०७७ मा १३ लाख बजेट छुट्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिलक बिकले जानकारी दिए ।