२०७७ मंसिर १३, शनिबार

कर्णाली बिन्द्रासैनी लिप्ट खानेपानी आयोजना, झण्डै २० करोडको लगानीमा निर्माण हुँदै

शनिबार आयोजनाको अनुगमनको लागि गएको प्रतिनिधिसभाका सदस्य राजबहादुर बुढा सहितको टोली ।  तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

दैलेख। कर्णाली नदीको पानी लिप्टिङ प्रविधि मार्फत जनताको घरघरमा पर्याउने उद्देश्यका साथ कर्णाली बिन्द्रासैनी लिप्ट खानेपानी आयोजना निर्माणको चरणमा छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ को पाल्तडाबाट कर्णाली नदिको पानी लिप्टङ प्रविधि मार्फत नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा पुर्याइने बताइएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका, केन्द्र र प्रदेश सरकारको संयुक्त लगानीमा सुरु भएको आयोजनाको लगात झण्डै २० करोड रहेको छ । चामुण्डाबिन्द्रसैनी नगरपालिका पूर्वाधार शाखा प्रमुख प्रकाश विक्रम शाहीले आयोजनाको अनुमानित लागत १९ करोड ९९ लाख ७ हजार नौ सय ३५ रहेको बताए । हाल आयोजनाको ट्याङकी, पाईप लाइन बिस्तारको काम भइरहेको उनको भानाई छ ।

आर्थिक बर्ष २०७६,०७७ बाट सुरु भएको आयोजनाको ट्याङ्की, पाइप लाइन बिस्तारको लागि सफल निर्माण सेवा जानकी गाउँपालिका बाँके संग एक करोड ३८ लाख ५७ हजार २ सय रुपैयाँमा सम्झौतामा काम गरीरहेको उनको भनाई छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाईले पाल्तडाबाट पानी लिप्ट गरेर (बिन्द्रासैनी डाँडा) वडा नम्बर ७ र ८ को बिचमा पर्ने डाँडामा ल्याइने र सोहि क्षेत्रमा ट्याङ्की निर्माण गरी वितरण हुने बताए । आयोजना समयमा नै निर्माण भएको अवस्थामा यहाँ जनताले धेरै राहत पाउने छन्,’ उनले भने, ‘कतिपय बस्तीहरुमा यो पानी बाहेक अन्य बिकल्प छैन । त्यहाँका नागरिकले घण्टौँ टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता हट्ने छ ।’

आयोजना समयमा नै निर्माण भएमा आफ्ना पानीका दुख हट्ने स्थानीयबासीको भनाई छ । हाल उक्त वडामा खानेपानीको एकदमै समस्या रहेको छ । बजार क्षेत्रमा घर तथा अन्य निर्माण जन्य काम गर्दा स्थानीयले रामघाट, पादुका खोला लगायतका ठाउँबाट ट्याङकर, ट्याक्टर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । आयोजना समयमा नै निर्माण भएको अवस्थामा यहाँका जनतालाई ठूलो राहत हुने वडा नम्बर ८ का स्थानीय रंग शाहीले बताए । आयोजना समयमा नै निर्माण गर्न सम्बन्धीत निकायलाई आग्रह गर्दै शाहीले निर्माण कार्यलाई तिव्रता दिनुपर्ने बताए ।

आयोजनाको शनिबार दैलेख क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सदस्य राजबहादुर बुढा, नगर प्रमुख सूर्यबहादुर शाही, उप प्रमुख तारा शाही लगायतको टोलीले अध्ययन तथा अनुमगन गरेको छ । अनुगमनको क्रममा सांसद बुढाले आयोजना सुरुवाती चरण रहेकाले समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

आगामी आर्थिक बर्षमा आयोजना सम्पन्न हुने चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए । हाल आयोजना संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको भन्दै उनले समयमा नै सम्पन्न हुने बताए ।