२०७७ मंसिर १३, शनिबार

धान भित्र्याउन व्यस्त किसान, दैलेखमा धान उत्पादन बढ्ने

दैलेख। चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का भरम भण्डारी एक साता देखि धान बाली भित्र्याउनमा व्यस्त छन् । उनी संगै उनका छिमेकी पुरन भण्डारी, कण बिष्ट पनि खेतमै व्यस्त छन् । उनीहरु मात्र होइन, अहिले चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ अधिकांश मानिसहरु धान बाली भित्र्याउन खेतमै व्यस्त छन् ।

धान काटेर गहुँ छरिसके पछि धान भित्र्याउनमा व्यस्त भएको स्थानीय भरम भण्डारी बताउँछन् । ‘खेतीको कामले यो समय सबै जसो मानिसहरु खेतमै व्यस्त छन्,’ उनले भने, ‘यो बर्ष तिहार ढिला भएकाले तिहार अघि नै धानबाली भत्र्याइ सक्ने योजना छ ।’ तिहारको रमझम सुरु भए पनि खेतबारीको काम तिहार अघि नै सक्ने अर्का स्थानीय पुरन भण्डारीले बताए । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नम्बर ६ मा मात्रै नभएर अन्य वडाहरुमा पनि धान बाली भिक्राउने चटारो छ । दैलेखमा विशेष गरी कार्तिक, मंसिरको महिना धान बाली भित्र्याउने गरीन्छ ।

धान उत्पादन बढ्ने

यस बर्ष दैलेखमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालय दैलेखले चालु आर्थिक बर्ष २०७७,०७८ मा धान उत्पादन झण्डै दुई हजार मेट्रिक टनले बढ्ने अनुमान गरेको छ । कार्यालयका प्रमुख तिलक पाण्डेले यो बर्ष समयमा नै बर्षा हुनु, रोगकिराको प्रकोप कम हुनु जस्ता कारणले धान उत्पादन बढ्ने बताए ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा दैलेखमा आठ हजार तीन सय १३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २७ हजार तिन सय ८६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

चालु आर्थिक बर्षमा धान उत्पादन हुने क्षेत्रफल समेत बढेकाले धान उत्पादन बढ्ने उनको भनाई छ । चालु आर्थिक बर्षमा आठ हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २९ हजार तीन सय तीन मेटिक्टन धान उत्पादन हुने अनुमान गरिएको उनको भनाई छ ।

गत आर्थिक बर्षमा उत्पादकत्व ३ दशमलव २९ रहेकोमा चालु आवमा ३ दशमलव ४६ रहेको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ । यो बर्ष समयमा नै बर्षा हुँनु, कोरोना भाइरसको माहामारीका कारणले गर्दा गाउँघर तिर मानिसहरुको चहलपहल बढेका कारण धान खेती धेरै भएको उनको भनाई छ ।