२०७७ मंसिर १३, शनिबार

विद्यार्थीमा कोरोना देखिए पछि हुम्लाका विद्यालय पुन बन्द

सुर्खेत । विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिए पछि हुम्लामा सञ्चालनमा आएका विद्यालयहरु पुन बन्द गरिएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका शैक्षिक संस्थाहरु पुनः बन्द भएका हुन । कोरोनाको थप जोखिमलाई ध्यानमा राखेर मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गरिएको हो ।

यस अघि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए पछि जिल्लाभरका शैक्षिक संस्था (बिहीबार) आजदेखि बन्द गरिएको हो । नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हुम्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले (बिहीबार) आजदेखि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्नेलगायतका निर्णयहरु गरेको हो ।

नाम्खा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरा बढाएको जनाएको छ ।