२०७७ माघ ७, बुधबार

आजबाट कक्षा १२ को परिक्षा सुरु, कर्णालीबाट ३१ हजार बढि विद्यार्थी सहभागि

सुर्खेत । कोरोना भाइरसको माहामारीका बिच कक्षा १२ को परिक्षा आज (मंगलबार)बाट सुरु  भएको छ । कर्णाली प्रदेश सहित देशभरका विभिन्न परिक्षाकेन्द्रबाट परिक्षा हुन लागेको हो । कर्णालीमा परिक्षाको तयारी पुरा भएको राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतले जानकारी दिएको छ ।

कार्यालयका अनुसार परिक्षामा कर्णाली प्रदेशका १० वटै जिल्लाका नियमित र ग्रेड वृद्धि तर्फ गरेर ३१ हजार तीन सय ३४ जना विद्यार्थीहरु सहभागि हुँदैछन् । जसमा सबै भन्दा बढि सुर्खेतमा सात हजार पाँच सय ५७ जना र सबै भन्दा कम डोल्पाबाट चार सय २२ जना सहभागिता जनाउँदै छन् ।

कर्णालीका सल्यान र रुकुम पश्चिम बाहेक अन्य जिल्लाको परिक्षा व्यवस्थापनको काम हेर्दै आएको परिक्षा बोर्डले ८ वटा जिल्लामा दुई सय १६ वटा परिक्षा केन्द्र तोकिएको जानकारी दिएको छ । जस अन्तर्गत सुर्खेतमा ६६, दैलेखमा ४८, जाजरकोटमा २३, कालिकोटमा ३६, मुगुमा १०, हुम्लामा १०, जुम्लामा १८ र डोल्पामा ५ वटा परीक्षा केन्द्र तोकिएको हो ।

कोरोनाका कारण बाहिर जिल्लाबाट अध्ययन गरी घरपायकको जिल्लामा परिक्षा दिने ८ जिल्लाका पाँच सय ४ जना विद्यार्थी रहेका छन् । भने सुर्खेतबाट तीन जना कैदी र दुई जना दृष्टिविहीन विद्यार्थीहरुले समेत परिक्षा दिन लागेको राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका प्रमुख जित बहादुर शाहले जानकारी दिए । साथै उनले उत्तरपुस्तिका र अन्य परीक्षा सामग्रीका साथै हार्ड कपि दिनुपर्ने परीक्षा केन्द्रहरुमा प्रश्नपत्रहरु पुगिसकेको जानकारी दिए । ‘कोरोनाको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गरेर परिक्षा सञ्चालन हुँदैछन्,’ उनले भने, ‘एक बेन्चमा एक जना विद्यार्थी फरक फरक साईडमा बस्ने छन् ।’

यता शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतकी उपसचिव दिपा हमालले प्रत्येक परिक्षा केन्द्रमा स्वास्थ्यकर्मीको टोली रहने बताइन । ‘प्रदेश तथा स्थानीय तह मार्फत स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ,’ उनले भनिन, ‘कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामाग्रीहरुको व्यवस्थापन गरिएको छ ।’ साथै उनले यो समयमा परिक्षा दिन छुट्का केहि विद्यार्थीहरुको लागि पुन अर्को तालिका अनुसार परिक्षा हुने समेत जानकारी दिइन । परिक्षामा देशभरका गरेर चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदै छन ।