२०७७ माघ ७, बुधबार

सम्पादकीय: अनुगमनलाई तिव्र पारौँ

केहि दिन यता देखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रसोधन उद्योगमाथीको अनुगमनलाई तिव्र पारेको छ । केन्द्र सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि प्रशासनले सम्बन्धीत क्षेत्रमा नै गएर उद्योगहरुको अनुगमन सुरु गरेको हो । जिल्लामा रहेका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका उद्योगहरुको अनुगमनलाई तिव्र बनाएको हो । यस अघि प्रशासनले सम्बन्धीत उद्योगहरुको कागजजात संकलन गरेर अध्ययन समेत गरेको थियो । सोहि आधारमा मापदण्ड विपरित सञ्चालनमा रहेका उद्योगहरुलाई प्रशासनले बन्द गराउने बताएको छ । यस अघि पनि प्रशासनले बेला बेलामा उद्योगहरुको अनुगमन गर्ने गरेको जानकारी आए पनि त्यसको प्रतिफल आउन सकेको थिएन् । केन्द्र सरकारको निर्देशन आए लगत्तै प्रशासन कडा रुपमा प्रस्तुत भएको छ । प्रशासनले बजार क्षेत्र तथा अन्य थुप्रै क्षेत्रहरुको अध्ययन तथा अनुगमन गर्ने गरेको छ । तर ती सबै औपचारिकतामा मात्रै सिमित हुने गरेका छन् । प्रशासनले बेला बेलामा अनुगमन गरे पनि त्यसले त्यो क्षेत्रमा खासै सुधार आउन सकेको छैन । क्रसर उद्योगमा जस्तै अन्य विभिन्न खालका उद्योगहरुमा प्रशासन यसरी नै प्रस्तुत हुनुपर्ने समय आएको छ । बजार क्षेत्रमा विभिन्न किसिमका विकृति विसंगतिहरु रहेका छन्, अन्य औद्योगिक क्षेत्र लगायतका ठाउँमा विभिन्न किसिमका समस्याहरु रहेका छन् । जुन क्षेत्रमा पनि प्रदेश सरकारको ध्यान जान जरुरी छ । प्रशासनको अनुगमन नियमित र प्रभावकारी तरिकाले भएको अवस्थामा क्रसर उद्योग जस्तै अन्य विभिन्न क्षेत्रका समस्याहरु समाधान हुने देखिन्छ । बजार क्षेत्रका विभिन्न समस्याहरु समाधान हुने देखिन्छ । त्यसैले प्रशासनले अनुगमनलाई तिव्र पार्नु पर्छ । जसले गर्दा सबै क्षेत्रका विभिन्न समस्याहरु समाधान हुन सक्छन् ।