२०७७ माघ ७, बुधबार

वीरेन्द्रनगरको एकीकृत विकास योजना, प्रदेश सरकार र नगरको सहकार्यमा अघि बढ्दै

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजधानीको एकीकृत विकास सम्बन्धी निर्णय सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहितको टोली । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकास योजना प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा अघि बढ्ने भएको छ । उपत्यका क्षेत्रमा निर्माणाधिन सडक, खानेपानी आयोजना, पर्यटकीय क्षेत्रहरु, विमानस्थल निर्माण लगायतका क्षेत्रमा संयुक्त लगानी तथा सम्बन्धीत निकायमा पहल गर्ने बताएका हुन ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग, वीरेन्द्रनगर नगरपालिका सम्मेलित बैठकले राजधानीको पूर्वाधार निर्माणको लागि संयुक्त रुपमा अघि बढ्ने निर्णय गरेको हो ।

जस अन्तर्गत संघिय र प्रदेश सरकारको संयुक्त लगानीमा समपूरक आयोजनाको रुपमा अघि बढेका सडकहरु एक महिना भित्र कालोपत्रे गरिसक्ने, वीरेन्द्रनगरमा प्रदेश सरकार संगको सह–लगानीमा निर्माणमा अघि बढेका सडकहरु तत्काल कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।

यस्तै वीरेन्द्रनगरको गुरुयोजना भित्रको सरकारी कार्यालय क्षेत्रमा कालोपत्रे गर्न बाँकी सडकको टेण्डर प्रकृया तत्काल अघि बढाउने, वीरेन्द्रनगरमा निर्माणाधिन चक्रपथलाई उच्च प्रथामिकतामा दिई निर्माण कार्य अघि बढाउने निर्णय गरिएको छ ।

उपत्यकाको खानेपानीको दीर्घकालीन समस्या समाधानको लागि भेरी लिफ्ट खानेपानी आयोजना तत्काल अघि बढाउने, वितरण प्रणालीमा पानी आपूर्ती गराउने सम्मको कार्यको ठेक्का लगाउने काम प्रदेश सरकारसंगको सहकार्यमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले अघि बढाउने व्यवस्थापन गर्ने, उपत्यकामा पानी वितरणलाई आधुनीक तवरबाट दीर्घकालीन विकास गर्न भएको अध्ययन प्रतिवेदन नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागसंग माग गर्ने जस्ता निर्णय गरेको हो ।

धुलियाविट बांङ्गेसिमल मुख्य बजार र गुरुयोजना क्षेत्रमा विद्युत वितरण, सिसि क्यामरा, विद्युतिय तार व्यवस्थापन लगायतका कामहरु नगर र प्रदेशको सह–लगानीमा गर्ने गरी अघि बढाउने, वीरेन्द्रनगरका पर्यटकीय क्षेत्रहरु देउती बज्यै, शहीद पार्क, बुलबुले ताल, काँक्रेविहार लगायतका क्षेत्रहरुको विकासका लागि विषयगत मन्त्रालय सहितको सहभागितामा अघि बढाउने निर्णय गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका सँगको सांझेदारी संगै राजधानीका विभिन्न विकास निर्माणका कामहरु तिव्रताका साथ अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । ‘यस अघि विभिन्न कानुनी तथा प्रक्रियागत जटिलताका कारण वीरेन्द्रनगरको विकासमा उल्लेखनिय काम हुन सकेको थिएन,’ मन्त्री ज्वालाले भने, ‘तर अब काम तिव्रताका साथ अघि बढ्ने छ ।

कुनै समस्याहरु आएमा दुबै पक्ष मिलेर त्यसको समाधान गर्नेछौँ ।’ साथै उनले चालु आर्थिक बर्षमा वीरेन्द्रनगरको एकिकृत विकासको लागि ५१ करोड रुपैयाँ छुट्याएको समेत जानकारी दिए । सुर्खेतको विमानस्थल विस्तारको लागि प¥याप्त मात्रामा बजेट भएकाले प्रक्रिया तत्काल अघि बढाउन संघीय सरकार संग पहल गर्ने समेत उनको भनाई छ ।

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवदीले नगरको स्रोत साधनले भ्याय सम्मका सबै कामहरु गर्ने बताए । हाल बजार क्षेत्रमा देखिएका समस्याहरु प्रदेश सरकार तथा अन्य विभिन्न निकायहरु संगको सहयोगमा समाधानको प¥यास भइरहेको समेत जानकारी दिए ।